मोरङ, उदयपुर र सुनसरीबाट लागूऔषध सहित सात जना पक्राउ
विराटनगर, भदौ १८ गते । मोरङ, उदयपुर र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ।
भदौ १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय रानी, मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६ बाट १ ग्राम ३७० मिलिग्राम ब्राउनसुगरसहित मोरङको केराबारी गाउँपालिका–७ का ३३ वर्षीय कमल राईलाई पक्राउ गरेको हो।
त्यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का २६ वर्षीय सावन राईले लागूऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा ट्रामाडोल १ हजार ४५४ क्याप्सुल र डाइक्लोमाइन १ हजार ४५४ ट्याब्लेट बरामद भएपछि सावन र चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय शुभ राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ बाट धादिङका २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोकका ३७ वर्षीय विक्रम कार्कीलाई १९ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
सोही क्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का गौतम ऋषिदेव र सुन्दरहरैँचा नगरपालिका–७ का २८ वर्षीय अमिन चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।


