धनकुटाको महालक्ष्मी नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ४१ लाख ४८ हजार रुपैयाँ सहयोग गर्ने
धनकुटा । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत, उद्धार र पुनर्स्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २१९ रुपैयाँ सहयोग गर्ने भएको छ।
महालक्ष्मी नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ठ जम्मा गर्ने निर्णय गरेको हो। नगरपालिकाले विपद्का कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावितको तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्ममा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
नगरपालिकाका अनुसार उक्त रकममध्ये विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ। त्यस्तै, नगरपालिकाका जनप्रतिनिधिको १० दिन बराबरको सेवासुविधाबाट २ लाख २२ हजार ३३० रुपैयाँ योगदान गरिनेछ।
नगरपालिकामा कार्यरत कर्मचारीहरूको तलब स्केलबाट ६ लाख ९१ हजार ५२५ रुपैयाँ र नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब स्केलबाट २७ लाख ३४ हजार ३६४ रुपैयाँ जम्मा गरिने भएको छ।
यसरी नगरपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूको योगदानसहित कुल ४१ लाख ४८ हजार २१९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ।
महालक्ष्मी नगरपालिकाले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते भएका तथा विपद्मा परेका सबैको शीघ्र स्वास्थ्यलाभ र पुनर्स्थापनाको कामना गरेको छ।
नगरपालिकाले विपद्को विषम परिस्थितिमा मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णय गरिएको जनाएको छ।


