माइक्रोबस दुर्घटना हुंदा एकको मृत्यु, १९ जना घाइते
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
आज बिहान करिब ३:३० बजे भे.१ ज.१६३४ नम्बरको माइक्रोबसको ब्रेक फेल भई सडकमा रोकिराखेको बा.प्र.०१–००६ ख.३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित २० जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएको थियो। सामान्य उपचारपछि केही घाइतेलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये सल्यान घर भएका अन्दाजी २७ वर्षीय गणेश बुढालाई जिल्ला अस्पताल परासी पठाइएको थियो। उनलाई चिकित्सकले बिहान ४:२४ बजे जाँच गर्दा मृत घोषणा गरेका हुन्।
घाइतेमध्ये १० जना देवदह मेडिकल कलेज, भलुहीमा थप उपचारका लागि पठाइएको र अन्यको बर्दघाट नगर अस्पताल, चिसापानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
देवदह मेडिकल कलेज पठाइएका घाइतेहरूमा दाङ शान्तिनगर गाउँपालिका–४ का ३३ वर्षीय निशान्त विक, दैलेख दुल्लु नगरपालिका–७ का २३ वर्षीय निराजन खवास, बर्दिया मधुवन–३ की ३४ वर्षीया मिना आले, मुगु सोरु गाउँपालिका–२ का ३१ वर्षीय जलनाथ योगी, कैलाली मोहन्याल गाउँपालिका–७ का २१ वर्षीय मनोज बोहरा, सल्यान बनगाड कुपिण्डे नगरपालिका–३ का १९ वर्षीय मनिष विक, बाँके नेपालगञ्ज उपमहानगरपालिका–४ का २८ वर्षीय कैलाश खत्री, बर्दिया बढैयाताल–२ का २० वर्षीय कृष्णप्रसाद उपाध्याय, दार्चुला महाकाली–१ का ३७ वर्षीय मोहन बम, बाँके कोहलपुर नगरपालिका–१ की २३ वर्षीया तिलु सार्की, डोल्पा मुड्केचुला गाउँपालिका–१ की २१ वर्षीया करिना बुढा र जाजरकोट नलगाड नगरपालिका–१२ का २३ वर्षीय लोकबहादुर बोहरा रहेका छन्।
त्यस्तै बर्दिया बाँसगढी नगरपालिका–३ का ४१ वर्षीय तीर्थबहादुर बुढामगर, मुगु छायानाथ रारा नगरपालिका–११ का २९ वर्षीय अंक दमाई, सोही क्षेत्रका ३२ वर्षीय दिनेश साउद, सुर्खेत भेरीगंगा नगरपालिका–४ का २२ वर्षीय चन्द्र बुढा र बर्दिया बढैयाताल गाउँपालिका–३ का २१ वर्षीय मोतिलाल रावलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको बर्दघाट नगर अस्पताल, चिसापानीमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न माइक्रोबस चालक बाँके कोहलपुर नगरपालिका–२ का २१ वर्षीय हरिशंकर आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको सवारी चालक अनुमतिपत्र भएको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक परीक्षणबाट खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका–३ का २५ वर्षीय राजु थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको समेत सवारी चालक अनुमतिपत्र रहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक परीक्षणबाट खुलेको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


