धनकुटाको सांगुरीगढी गाउँपालिकाद्वारा भोटेकोशी बाढी प्रभावित नागरिकलाई ३० लाख रुपैयाँ सहयोग
हिराराज राई, धनकुटा । घनकुटाको साँगुरीगढी गाउँपालिकाले हिमताल विष्फोटनका कारण भोटेकोशी, त्रिशूली लगायतका नदीहरूमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार, २०८३ भदौ १० गते हिमताल विष्फोटनपछि आएको आकस्मिक बाढीले रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा ठूलो धनजनको क्षति पुर्याएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। उक्त विपद्का कारण धेरै नागरिकको ज्यान गएको, सयौं घाइते, बेपत्ता तथा विस्थापित भएको अवस्थाले गाउँपालिका अत्यन्त मर्माहत भएको जनाएको छ।
विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
गत भदौ १८ गते बसेको गाउँ कार्यपालिकाको बैठक तथा कर्मचारीहरूको सामूहिक बैठकको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा गाउँपालिकाको विपद् कोषबाट संकलित गरी कुल ३० लाख रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।
साथै, गाउँपालिकाले विपद्को यस कठिन घडीमा संघ, प्रदेश र स्थानीय तहका सरकारी निकाय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सामाजिक संघ–संस्था, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई पीडितहरूको उद्धार, राहत, उपचार तथा दीर्घकालीन पुनःस्थापनामा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न हार्दिक अपिल गरेको छ।


