धनकुटाको पाख्रिबास स्थित सयपत्री स्कुल परिवारद्वारा बाढीपीडितका लागि १ लाख १ हजार ५५५ रुपैयाँ सहयोग
धनकुटा । धनकुटाको पाख्रिबास ४ स्थित सयपत्री सेकेण्डरी बोर्डिङ स्कुल परिवारले गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट र गोरखामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका तर्फबाट २५ हजार रुपैयाँ, विद्यार्थीका तर्फबाट २१ हजार ५५५ रुपैयाँ र विद्यालय व्यवस्थापनका तर्फबाट ५५ हजार रुपैयाँ सहयोग गरिएको विद्यालयले जनाएको छ।
विद्यालय परिवारले बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
त्यस्तै, विपत्तिबाट प्रभावित परिवारको शीघ्र पुनर्स्थापना, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापित नागरिकले सुरक्षित, सहज र सम्मानजनक जीवनयापन गर्न सकून् भन्ने कामना विद्यालय परिवारले गरेको छ।

