गुठी संस्थानको पोखरी अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयको प्रदर्शन

सुभाष कायस्थ/जनकपुरधाम, २३ भदौ। गुठी संस्थानले चलाएको जनकपुरधामस्थित पोखरीको जग्गा अतिक्रमणमुक्त अभियानविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन्।

 

जनकपुरधाम वडा नम्बर १४ स्थित लबकी पोखरीको डिलनजिक घर बनाएर बसेका स्थानीयहरूले गुठी संस्थानले मापदण्ड र कानुनविपरीत आफूहरूको घर भत्काउन लागेको आरोप लगाएका छन्।

 

वडा सदस्य रमेश साहको अगुवाइमा स्थानीयले पूर्व-पश्चिम राजमार्गअन्तर्गत जनकपुरधाम-ढल्केवर सडक खण्डको पिडारी चोकमा बिहानैदेखि घण्टौँ सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।

 

उनीहरूले ‘गुठी संस्थान मुर्दावाद’, ‘मापदण्डविपरीतको अभियान बन्द गर’, ‘२०६२ सालको प्रतिवेदन खारेज गर’ र ‘२०४६ को नक्सा कायम गर’ भन्दै चर्को नाराबाजीसहित प्रदर्शन गरेका छन्।

 

वडा सदस्य साहले लबकी पोखरी गुठी संस्थानकै नरहेको दाबी गर्दै भने, “आफूसहित करिब ४२ जना ७० वर्षभन्दा बढी समयदेखि घर बनाएर बस्दै आएका छौँ। उक्त जग्गाको आफूहरूसँग विभिन्न कागजात तथा प्रमाण हुँदाहुँदै गुठीले घर भत्काउने गरी कानुनविपरीत रेखाङ्कन गरेको छ।”

 

यस्तै स्थानीय श्याम यादवले भने, “यदि आफूहरूले मापदण्ड वा कानुनविपरीत घर बनाएको भए अवरोध गर्दैनौँ। जुन पोखरी गुठी संस्थानको छँदै छैन, त्यसमा बलजफती दाबी गर्दै आफूहरूको घर तोड्न खोजिएको हो।”

 

प्रदर्शनमा सहभागी विन्देश्वर देवी दासले आफूहरू तीन पुस्तादेखि सोही घरमा बस्दै आएको बताए। उनले गुठीको जग्गामा ठूला-ठूला भवन बनाएर होटल र अस्पताल सञ्चालन गर्ने तथा घरबास गर्दै आएका पहुँचवालाहरूको घरमा केही नगरी गरिबहरूको घरमा मात्र डोजर चलाउन खोजेको आरोप लगाए।

 

गुठी संस्थानको शाखा कार्यालय धनुषामातहत जनकपुरधाम उपमहानगरपालिकाभित्र अतिक्रमित पोखरीहरूको डिल खाली गराउने अभियानलाई तीव्र पारिएको छ। गत भदौ ६ गते जनकपुरधामस्थित अतिक्रमित ७ वटा पोखरीको डिलमा रहेका घरहरू डोजर लगाएर भत्काइएको थियो। त्यसको १४ औँ दिन अर्थात् भदौ १९ गते शुक्रबार पुनः दोस्रो चरणमा १५ वटा पोखरीको डिल ७ दिनभित्र खाली गर्न सूचना जारी गरिएको छ।

 

गुठी संस्थानले वडा नम्बर १४ स्थित लबकी पोखरीसहित देवान पोखरी (चन्द्रकूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्वी), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायतका पोखरी तथा तिनका डिलमा भएको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनको समय दिएको छ।

 

सात दिनभित्र पोखरीका डिल खाली नगरिए आठौँ दिनदेखि पुनः डोजर लगाएर संरचना भत्काइने गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ को प्रतिवेदन कार्यान्वयन समितिका सदस्य-सचिव जनक पोखरेलले बताएका छन्।

 

पहिलो चरणमा कच्ची घर मात्र भत्काइएको र आर्थिक लेनदेनका आधारमा पहुँचवालाको घर नभत्काइएको भन्ने आरोपको खण्डन गर्दै सदस्य-सचिव पोखरेलले भने, “हामीले कतै पनि वा कसैसँग काखापाखा वा आर्थिक लेनदेन गरेका छैनौँ। सम्बन्धित नापी कार्यालयले रेखाङ्कन गरिदिएको नापनक्साअनुसार भत्काएका हौँ। नापी कार्यालयले कुन आधारमा रेखाङ्कन गर्‍यो र अन्य व्यक्तिको लालपुर्जा कसरी बन्यो भन्ने कुरा तिनै पदाधिकारीहरूलाई थाहा होला।”

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।