ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी २२ महिनापछि गोली प्रहार गरी पक्राउ
सिरहा । ज्यान मार्ने उद्योग, सवारी ज्यान तथा संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका मुख्य प्रतिवादी २२ महिनापछि गोली लागेर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला ललबनियाँ थाना घोडमोहना घर भई हाल सिरहाको नवराजपुर गाउँपालिका–५ बस्ने ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी रहेका छन्।
प्रहरीका अनुसार २०८१ मंसिर १६ गते बिहान बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नेपाल–भारत सीमामा भारततर्फ ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले टाटा सफारी गाडी रोक्न खोजेको थियो। त्यस क्रममा उक्त गाडीले ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिई किचेको थियो।
घटनापछि फरार रहेका गाडीधनी तथा चालक कुरवानको खोजी गर्ने क्रममा आइतबार साँझ करिब ५ः१० बजे कचनारीस्थित नेपाल–भारत सीमाक्षेत्रमा प्रहरीले उनलाई फेला पारेको हो।
प्रहरीका अनुसार कुरवानसहित तीन जनाले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली चलाएर भाग्न खोजेपछि प्रहरीले जवाफी कारबाहीमा तीन राउण्ड गोली चलाएको थियो। गोली लागेर कुरवानको बायाँ हातको कुहिना र दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिएर उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

