भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ३६ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजेसम्म १ हजार ४३६ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। त्यस्तै काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार हालसम्म ४ हजार ६५५ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा १ हजार ३७२ जनालाई राखिएको छ।

