धनकुटाको हिले बजारको रोक्का जग्गा तत्काल फुकुवा गर्न सांसद राईको माग
काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाको हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले जग्गा रोक्का हुँदा स्थानीय बासिन्दा तथा व्यवसायीको अर्बौँ रुपैयाँको लगानी जोखिममा परेको बताए।
राईका अनुसार रोक्का जग्गामा २६६ स्थानीयका घर तथा व्यावसायिक संरचनासहित खेलमैदान, बसपार्क र अन्य सार्वजनिक संरचना निर्माण भएका छन्। जग्गा रोक्का भएपछि व्यवसायी बैंकिङ कारोबार तथा कर्जा सुविधाबाट समेत वञ्चित भएको उनले बताए।
भूमिसुधार मन्त्रालयमा अड्किएको प्रक्रिया तत्काल अघि बढाई हिलेका नागरिकको समस्या समाधान गर्न उनले सरकारसँग माग गरे।

