संयुक्त राष्ट्रसङ्घको महासभा सम्बोधनपछि प्रधानमन्त्री आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
काठमाडौं, १० असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई सम्बोधन गरेर प्रधानमन्त्री आज स्वदेश फर्किँदै हुनुहुन्छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महासभामा भाग लिएर प्रधानमन्त्री असोज १० गते शनिबार स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीको स्वदेश आगमन तथा अमेरिका भ्रमणको उपलब्धिबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आजै प्रेस ब्रिफिङको आयोजना गरेको छ। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भीआईपी लाउन्ज) स्थित मिडिया कक्षमा प्रेस ब्रिफिङ गर्नुहुनेछ।
सञ्चार माध्यमका प्रतिनिधिहरूलाई ब्रिफिङ सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगावै उपस्थित गराउन सूचना तथा सञ्चार मन्त्रालयको प्रेस तथा सूचना समन्वय शाखाले सूचना तथा प्रसारण विभागलाई अनुरोध गरेको छ।
प्रेस ब्रिफिङमार्फत प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घ महासभाको सहभागिता, विभिन्न द्विपक्षीय भेटवार्ता र भ्रमणका प्रमुख उपलब्धिहरूबारे आधिकारिक जानकारी सार्वजनिक गरिनेछ।

