अविरल वर्षाले देशका मुख्य राजमार्गहरू थप्प : पृथ्वी राजमार्गका चार स्थानमा पहिरो, बीपी राजमार्गको डाइभर्सन बगायो
काठमाडौं, १० असोज । अविरल वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरूमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। सडक विभागले शनिबार बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार पहिरो, सडक भासिने र बाढीले डाइभर्सन बगाउँदा दर्जनभन्दा बढी मुख्य सडकहरूमा गम्भीर अवरोध सिर्जना भएको छ।
देशको मुख्य जीवनरेखा मानिने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङ लगायतका स्थानमा ठूलो पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको छ। निरन्तरको वर्षाका कारण जोखिम बढेकाले स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको छ भने सडक विभागले पहिरो पन्छाउन मेसिनहरू परिचालन गरिसकेको छ।
यस्तै, बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडा लगायतका स्थानमा सडक अवरुद्ध भएको छ। ती क्षेत्रमा पहिरो जानुका साथै तीव्र बहावले डाइभर्सन समेत बगाएकाले राजमार्ग पुनः सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ।
कर्णाली राजमार्गका गगने खोला र नाग्म–जुम्लाको राँका क्षेत्र लगायतका स्थानमा साना-ठूला पहिरो र ढुङ्गा खसेका कारण सडक पूर्ण रूपमा ठप्प छ। सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी खण्डको सोलु खोला नजिक सडक भासिएकाले 'ब्याक कटिङ' गरेर साँझसम्म सडक खुलाउने प्रयास जारी छ। कान्ति राजमार्ग भने मकवानपुर खण्डको पहिरो पन्छाएपछि आंशिक रूपमा सञ्चालनमा आएको छ।
यसैगरी, मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्ड, कालीगण्डकी करिडोरको जैमिनी–८ बेलबगर, तमोर करिडोर र राप्ती राजमार्गका विभिन्न खण्डमा पनि पहिरो र खोलाको बहाव बढ्दा आवतजावत रोकिएको छ। सडक विभागले सबै यात्रु तथा सवारी चालकहरूलाई यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सडकको आधिकारिक अवस्था बुझ्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

