सुरु भयो जितिया पर्व, सन्तानको दीर्घायुका लागि व्रतको तयारी
रौतहट, १६ असोज । तराई–मधेसमा सन्तानको सुख, दीर्घायु र परिवारको मंगलकामनासहित मनाइने महत्वपूर्ण पर्व जितिया (जिउतिया) शुक्रबारदेखि विधिवत् सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाहरूले नहाय–खाय विधि सम्पन्न गरेका छन्।
बिहानै नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शरीर र मन शुद्ध गर्ने, धार्मिक विधिअनुसार पूजा–आराधना गर्ने र त्यसपछि परम्परागत परिकार खाने चलन नहाय–खायमा छ। यही दिनबाट जितियाको मुख्य व्रतका लागि आवश्यक धार्मिक तथा मानसिक तयारीसमेत गरिन्छ।
सन्तानको स्वास्थ्य, दीर्घायु तथा परिवारमा सुख–शान्ति कायम रहोस् भन्ने कामनाका साथ विशेषगरी तराई–मधेसका महिला यो पर्वमा सहभागी हुने गरेका छन्। थारु, मधेशी लगायत विभिन्न समुदायमा जितियाको आफ्नै मौलिक परम्परा र विधि रहेको पाइन्छ।
नहाय–खायपछि असोज १७ गते मुख्य जितिया व्रत बस्ने र असोज १८ गते पारणा गर्ने धार्मिक परम्परा छ। मुख्य व्रतका क्रममा महिलाहरूले कठोर उपवास बस्दै विभिन्न धार्मिक अनुष्ठान र परम्परागत विधि पूरा गर्ने गर्छन्।
जितियालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई तराई–मधेसको सामाजिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। आमाको सन्तानप्रतिको समर्पण, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिलाई यस पर्वले जीवन्त राख्दै आएको छ।

