‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

 
रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित शान्तिकुञ्जबाट आइतबार तीनवटा ज्योति कलश रथ रवाना गरिएको छ ।

शान्तिकुञ्जकी अधिष्ठात्री श्रद्धेया शैलदीदीले शङ्खनाद र वैदिक मन्त्रको उच्चारणबीच पूजाआजा गरी रथहरूलाई बिदाइ गरेकी हुन् । ती रथले दिल्ली, राजस्थान र उत्तर प्रदेशका ५० भन्दा बढी जिल्लामा भ्रमण गरी गाउँगाउँ र सहरसहरमा जन्मशताब्दी समारोहको निम्तो पुर्‍याउनेछन् ।

अभियानका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष सम्पर्क गरी जन्मशताब्दी समारोहका उद्देश्य, कार्यक्रम र मितिबारे जानकारी गराइनेछ । साथै माता भगवती देवी शर्माले अघि सारेका नारी जागरण, संस्कारयुक्त परिवार, सामाजिक सद्भाव र समाज निर्माणसम्बन्धी विचारलाई जनस्तरसम्म पुर्‍याइने आयोजकले जनाएको छ ।

अभियानअन्तर्गत साँझका समयमा विचार गोष्ठी तथा दीपमहायज्ञ आयोजना गरिनेछ । यस्ता कार्यक्रममार्फत युगऋषि पण्डित श्रीराम शर्मा आचार्य र माताजीका विचारसँग सर्वसाधारणलाई जोड्दै रचनात्मक सामाजिक गतिविधिमा सहभागी हुन प्रेरित गरिनेछ । भ्रमण पूरा गरेपछि रथहरू अक्टोबर २८ र २९ सम्ममा नयाँ दिल्ली पुग्नेछन् ।

रथ बिदाइ कार्यक्रममा शान्तिकुञ्जका कार्यकर्तासहित विभिन्न प्रशिक्षण शिविरमा सहभागी ठूलो सङ्ख्यामा गायत्री परिवारका सदस्य उपस्थित थिए । उनीहरूले मोटरसाइकल तथा बसमार्फत जनजागरण र्‍यालीमा सहभागिता जनाएका थिए ।

शैलदीदीले माताजीको जन्मशताब्दी उहाँका आदर्शलाई जनजनसम्म पुर्‍याउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने सङ्कल्पलाई बलियो बनाउने अवसर भएको बताइन् । अभियानको सार्थकता मानिसले ती विचारलाई आफ्नो जीवन र व्यवहारमा आत्मसात् गरेपछि मात्रै पूरा हुने उनको भनाइ थियो ।
जन्मशताब्दी समारोहका दलनायक तथा देव संस्कृति विश्वविद्यालयका उपाध्यक्ष डा. चिन्मय पण्ड्याले यस अभियानले समारोहलाई जनस्तरको उत्सव बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनका अनुसार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म तीनदिने भव्य जन्मशताब्दी समारोह आयोजना हुनेछ । समारोहलाई लक्षित गर्दै राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा समेत व्यापक जनजागरण अभियान सञ्चालन गरिनेछ ।

रवाना गरिएका तीन रथमध्ये एउटा युगऋषिको कर्मभूमि हरिद्वार, अर्को जन्मभूमि आँवलखेडा (आगरा) र तेस्रो तपोभूमि मथुरा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा जनजागरणका लागि परिचालित हुने जनाइएको छ ।

देव संस्कृति विश्वविद्यालयमा जन्मशताब्दी समारोहको भूमिपूजन

हरिद्वार । माता भगवती देवी शर्माको जन्मशताब्दीका अवसरमा देव संस्कृति विश्वविद्यालयमा नोभेम्बर २१ र २२ मा विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

नारी जागरण, युवा चेतना र युग निर्माणको सन्देशलाई प्राथमिकता दिँदै आयोजना हुन लागेको कार्यक्रमको तयारीस्वरूप आइतबार समारोहस्थलमा भूमिपूजन गरिएको छ ।

दुईदिने कार्यक्रममार्फत माताजीका विचारलाई जनस्तरसम्म पुर्‍याउनुका साथै सामाजिक सद्भाव र संस्कारयुक्त समाज निर्माणको सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।

गायत्री विद्यापीठमा स्काउट–गाइड शिविर सुरु, १३० विद्यार्थी सहभागी

हरिद्वार । विद्यार्थीमा अनुशासन, आत्मनिर्भरता र सेवाभाव विकास गर्ने उद्देश्यले शान्तिकुञ्जस्थित गायत्री विद्यापीठमा चारदिने स्काउट–गाइड शिविर सुरु भएको छ ।

विद्यालयकी प्रबन्धिका शैफाली पण्ड्याले दीप प्रज्वलन गरी शिविरको उद्घाटन गरेकी हुन् । शिविरमा १३० विद्यार्थी सहभागी छन् । उनीहरूलाई व्यावहारिक जीवनोपयोगी सीपसम्बन्धी प्रशिक्षण दिइनेछ ।

उद्घाटनका अवसरमा प्रबन्धिका पण्ड्याले स्काउट–गाइड शिक्षा जीवनलाई सही दिशा दिने माध्यम भएको बताइन् । यसले विद्यार्थीलाई आफू, ईश्वर र समाजप्रतिको जिम्मेवारी बुझ्न तथा त्यसलाई व्यवहारमा उतार्न सिकाउने उनको भनाइ थियो ।
शिविरमा स्काउट–गाइडका नियम तथा प्रतिज्ञाबारे जानकारी दिनुका साथै गाँठो बाँध्ने, बन्धन बनाउने, प्राथमिक उपचार, कम्पास प्रयोग, अनुमान गर्ने र नक्सा पढ्ने सीप सिकाइनेछ ।

त्यस्तै, क्याम्प फायरलगायत गतिविधिमार्फत विद्यार्थीमा सामूहिक भावना, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । सहभागी विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय सोपानको प्रशिक्षणसमेत प्रदान गरिनेछ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीताराम सिन्हा, जिल्ला संगठन आयुक्त मंगलसिंह गढवाल, नरेन्द्र सिंह, विनयलगायतको उपस्थिति थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖