विराटनगरबाट ५२ ग्रामभन्दा बढी खैरो हेरोइन सहित दुई भारतीय नागरिक पक्राउ
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ बाट ५२ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, जोगबनी थाना क्षेत्रका १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधाकृष्ण राय रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५२ ग्राम १५० मिलिग्राम खैरो हेरोइन, दुई थान मोबाइल र एक थान साइकल बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार बरामद परिमाणको खैरो हेरोइनसम्बन्धी कसुरमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने ब्युरोले जनाएको छ।


