विद्यालयका प्रधानाध्यापक माथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरेको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्दै आएका ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अपशब्द प्रयोग गर्नुका साथै गालीगलौज र धम्की दिएका थिए। सोही क्रममा घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


