खुकुरी देखाई धाकधम्की दिँदै कुटपिट गर्ने ५ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुरमा एक व्यक्तिलाई जंगलमा लगेर खुकुरी देखाउँदै धम्की दिई कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार असोज २३ गते दिउँसो करिब ४ बजे बेलौरी नगरपालिका–९ रतनपुरका एक व्यक्तिलाई सोही क्षेत्रस्थित खजुवा जंगलमा लगेर धारिलो हतियार खुकुरी देखाउँदै धाकधम्की दिई कुटपिट गरिएको थियो ।
घटनाबारे असोज २४ गते दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक वा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले असोज २६ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको हो ।


