अम्बे स्टिल उद्योगमा आगलागी, १ करोड ५६ लाख रुपैयाँको क्षति
बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट सर्किट भएर आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
बिहीबार बिहान करिब १:३० बजे उद्योग परिसरमा रहेको फर्नेस आयल ट्यांकीमा अचानक आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
आगलागी भएको ट्यांकीको क्षमता दुई लाख लिटर रहेको जनाइएको छ। आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा बिहान करिब २:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
उक्त घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। आगलागीको कारण र क्षतिको यकिन विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


