कतारमा उर्लाबारीका ३३ वर्षीय लम्जेलको मृत्यु
उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–९, चक्रेटोलका ३३ वर्षीय मनकुमार लम्जेलको कतारमा मृत्यु भएको छ। वैदेशिक रोजगारीका सिलसिलामा कतारमा कार्यरत उनको असामयिक निधनको खबरले परिवार, आफन्त र गाउँले शोकमा डुबेका छन्।
प्राप्त विवरणअनुसार, मनकुमार अघिल्लो साँझ खसीको मासुसहित खाना खाएर सुतेका थिए। तर भोलिपल्ट बिहान उनी ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए।
सामान्य अवस्थामा खाना खाएर सुतेका उनी बिहान नउठेपछि परिवार र आफन्तले उनको मृत्युको दुःखद खबर पाएका हुन्। परिवारको सुखद भविष्य र उज्ज्वल जीवनको सपना बोकेर विदेश पुगेका मनकुमारको निधनले गाउँमा समेत शोक छाएको छ।
उनको मृत्युको कारणबारे भने विस्तृत विवरण प्राप्त भएको छैन।


