लागूऔषध सहित झापा, सुनसरी र तेह्रथुमबाट ५ जना पक्राउ
विराटनगर, कात्तिक ३। झापा, सुनसरी र तेह्रथुम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कात्तिक २ गते झापाको बिर्तामोड नगरपालिका–२ स्थित त्रिशूली चोकबाट तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ वर्षीय प्रदीप राजवंशी, १८ वर्षीय रोहित राजवंशी र २० वर्षीय सन्तोष राजवंशीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यसैगरी, सुनसरीको प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका–२ का ४३ वर्षीय अर्सद अन्सारीलाई प्रतिबन्धित औषधि स्पास्मोका ७२ ट्याब्लेट र निटजासेनका ९० ट्याब्लेटसहित पक्राउ गरेको छ।
यस्तै, तेह्रथुमको मेन्छयायेम गाउँपालिका–५ बाट ५४ वर्षीया टीका देवी परियारलाई ५० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


