झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, अर्का वृद्ध गम्भीर घाइते
झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर घाइते भएका छन्।
मंगलबार बिहान बस्तीमा प्रवेश गरेका दुईवटा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय बासिन्दा प्रभावित भएका हुन्।
इलाका प्रहरी कार्यालय राजगढका अनुसार हात्तीको आक्रमणबाट जनता बजारकी करिब ७० वर्षीया नजमा खातुनको मृत्यु भएको हो। मंगलबार बिहान करिब ५ः३० बजे मर्निङ वाकमा निस्किएकी खातुनलाई बस्तीमा प्रवेश गरेको हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।
त्यस्तै, हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ कै चैतन्यबारी क्षेत्रका करिब ७३ वर्षीय झप्टु राजवंशी पनि घाइते भएका छन्। बिरिङ खोलानजिक हात्तीले आक्रमण गर्दा उनको खुट्टामा गम्भीर चोट लागेको बताइएको छ।
घाइते राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


