भारतको एक अज्ञात स्थलमा भेटिएका रेशम चौधरीले भने,- अब चाँडै स्वदेश फर्किन्छु

धनगढी । टीकापुर काण्डका प्रमुख अभियुक्त आरोपित रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मत अन्तरले विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ मदनकुमारी शाहलाई २० हजार ९ सय ३५ मत अन्तरले हराउँदै चौधरी विजयी भएका हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट उम्मेदवार बनेका चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारीले १३ हजार ४ सय ६ मत मात्र पाएकी छिन् । त्यस्तै तेस्रो नम्बरमा कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन कार्यालयले चौधरीलाई विजयी घोषणा गरेलगत्तै भारतको एक अज्ञात स्थलमा कुरा गर्दै चौधरीले वारेसमार्फत् विजयी प्रमाणपत्र दिलाई दिन मिडियाले सहयोग गर्नुपर्ने बताए । अन्नपूर्ण पोष्टमा खबर छ ।

‘मलाई जनताले निर्दोष प्रमाणित गरिदिएका छन् । मेरो उम्मेदवारी वारेसमार्फत् नै दर्ता भएको थियो’, चौधरीले भने, ‘अब विजयी प्रमाणपत्र पनि वारेसमार्फत् नै दिलाइदिन मिडियाकर्मी साथीलाई आग्रह गर्दछु ।’ यद्यपी निर्वाचन कार्यालयले चौधरीलाई प्रमाणपत्र दिने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेको अवस्थामा अब आफू चाँडै स्वदेश फर्किने चौधरीले बताए । ‘म अब छिट्टै स्वदेश फर्किन्छु । म दोषी छैन । दोषी भए किन यत्ति धेरै मतले विजयी भए ?’, चौधरीले प्रश्न गर्दै भने, ‘टीकापुर घटनाको दोषीमाथि कारबाही हुनुपर्छ । निर्दोष जेलमा परेकालाई छोड्नुपर्छ ।’

उनले आफूलाई थारुको मात्र मत नआएको समेत प्रष्ट पारे । ‘मलाई पहिचानवादी भन्छन् । हो पहिचानवादी अन्दोलन आवश्य छ । तर, यसो भन्दैमा मलाई थारुले मात्र भोट हालेका छैनन् । पहाडी समुदायले पनि भोट हालेका छन् । त्यसैले त विजयी भएको छु ।’

मतदाताले क्षेत्र नम्बर १ को विकासको आशासहित आफूलाई मत दिएको उनको भनाइ छ । चौधरीले चुनाव प्रचारमा आफू सहभागी हुन नसक्दा मोबाइलमा भाषण रेकर्ड गर्दै म्यासेन्जरमा श्रीमतीलाई पठाएर त्यो भाषण मतदातालाई देखाएको समेत खुलासा गरे । मत माग्ने भूमिगत शैलीबारे चौधरीले भने, ‘म चुनाव प्रचारप्रसारमा गइनँ । मोबाइलमा रेकर्ड गरेर भाषण श्रीमती रञ्जिताको म्यासेन्जरमा पठाउथेँ । उनले मतदातालाई देखाउथिन् ।’

भारी मत अन्तरले विजयी चौधरी २०७२ भदौ ७ गते टीकापुरको चिलम चौराहामा दुईबर्से बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त हुन् । टीकापुर नरसंहारको घटनापछि चौधरी भारतमै लुकेर बसेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।