चौध अर्बको बिशाल चिनियाँ सहयोग आउने नै भयो, क्लिंकर-सिमेन्टमा नेपाल आत्म निर्भर हुने

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको चिनियाँ कम्पनी हुवाजिनसँग लगानी बोर्डले आयोजना लगानी सम्झौता (पीआईए)को प्रक्रिया अगाडि बढाएको छ ।

खानी विभागले १२ मंसिरमा हुवाजिनलाई खानी उपलब्ध गराएसँगै बोर्डले लगानी सम्झौताको प्रक्रिया थालेको हो ।

उक्त कम्पनीले लामो समयदेखि अपेक्षाअनुसारको खानी पाउन सकेको थिएन । सोही कारण लगानी सम्झौता रोकिँदै आएको थियो । धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको छ, विभागले ।

बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भन्छन्, ‘पीआईए गर्न हुवाजिनका अधिकारीसँग छलफल अगाडि बढाएका छौं ।’

उक्त कम्पनीले १४ अर्ब (१४० मिलियन डलर) रुपैयाँ लगानीमा सिमेन्ट उद्योग स्थापना गर्दैछ । नारायणी अञ्चलको कुनै जिल्लामा उद्योग स्थापना गर्ने कम्पनीले जनाएको छ ।

बोर्डका अनुसार उद्योगबाट दैनिक तीन हजार टन उत्पादन गर्ने लक्ष्य छ । तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।

५ पुस ०७२ मै उक्त कम्पनीको वैदेशिक लगानी स्वीकृत भइसकेको छ । तर, उद्योगका लागि खानी नपाउँदा अन्य प्रक्रिया अगाडि बढाएको थिएन ।

उद्योगका लागि आवश्यक जग्गा खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सरकारले स्वीकृति नदिएका कारण त्यसको प्रक्रिया पनि रोकिएको थियो ।

सरकारले जग्गाको हदबन्दी पनि यसअघि नै फुकाइसकेको छ । बोर्डका अनुसार उद्योगका लागि ३२ हेक्टर जग्गा आवश्यक छ ।

‘हुवाजिन सिमेन्ट नारायणी’ नामक कम्पनी पनि दर्ता भइसकेको छ । शतप्रतिशत विदेशी लगानीमा निर्माण गर्न खोजिएको उक्त आयोजना २० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीमा सञ्चालन गर्ने कम्पनीको योजना छ ।

देश सिमेन्टमा आत्मनिर्भर बन्दै गएको छ । अबको डेढ वर्षभित्रमा नेपाल सिमेन्टमा आत्मनर्भर बनिसक्ने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

सिमेन्टको कच्चापदार्थ क्लिंकर अहिले भारतबाट आयात हुँदै आएको छ । देशमा सञ्चालित केही उद्योगसँग क्लिंकर उत्पादन गर्ने क्षमता नभएका कारण भारतबाट आयात गर्नुपरेको हो ।

चिनियाँ लगानीमै स्थापना भएको शिवम् होङ्सी सिमेन्ट पनि उत्पादन थाल्ने तयारीमा छ । उक्त उद्योगले नेपालमै क्लिंकर उत्पादन गर्नेछ ।

हुवाजिन पनि नेपालमै क्लिंकर र सिमेन्ट उत्पादन गर्ने योजनामा छ । दुवै उद्योगले उत्पादन थालेपछि मुलुक सिमेन्टमा आत्मनिर्भर बन्ने छ ।

थापाका अनुसार नेपालमा उत्पादित सिमेन्ट भारतको विहार र बंगलादेशसम्म निर्यात गर्न सकिने प्रचुर सम्भावना छ । विहारमा चुनढुंगा खानी नभएका कारण त्यहाँ उद्योग खुल्ने सम्भावना कमजोर छ ।

नेपालमा जलविद्युत आयोजनाको निर्माण पनि तीव्र गतिमा छ । जलविद्युतबाट सिमेन्ट उत्पादन गर्दा सस्तो पर्ने बताउँदै विदेशी कम्पनीहरु नेपालमा आकर्षित् भएका हुन् ।

हिमाली र पहाडी भेगमा चुनढुंगा ठूलो मात्रामा उपलब्ध छ । सोही कारण नेपालमा ठूलो परिमाणमा सिमेन्ट उत्पादन गर्न सकिने बुझाइमा देखिन्छन्, विदेशी कम्पनीहरु । – अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।