विज्ञहरु भन्छन्,- सरकार गठन, मत परिणाम रोक्ने सबै खेल बाह्य शक्तिकै आडमा, संविधानले जनमत रोक्नु भन्ने ब्याख्या गर्नै सक्दैन

प्रतिनिधिसभाको चुनाव सम्पन्न भएर पनि निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेको एक महिना भन्दा बढि भएको छ । संविधानले राष्ट्रियसभा निर्वाचन नगरी प्रतिनिधिसभा मत परिणाम प्रकाशित गर्नू नभने पनि आयोगले संवैधानिक जटिलता देखाएर मतपरिणाम सार्वजनिक गरेको छैन । सँगसँगै आयोगले राष्ट्रियसभा चुनावको पनि आम चुनावको जस्तै एक महिना भन्दा लामो प्रक्रिया अपनाउनु पर्ने वताउँदै आएको छ । तर, आयोगका तर्कलाई नेपालको वौद्धिक क्षेत्रका विज्ञहरु मान्न तयार छैनन् । उनीहरु नेपाली जनादेश रोक्न र बाह्य शक्तिको स्वार्थ अनुरुपको सत्ता समीकरण बनाउने ध्येयसाथ यस्तो अलमल गरिएको वताउँछन् । यसै विषयमा जलस्रोतविद् अर्जुन ज्ञवाली, पूर्व सचिव द्वारिकानाथ ढुंगेल, प्राध्यापक पेशल निरौला र संस्कृतिविद् जगमान गुरुङसँग चक्रपथ डटकमका लागि बिनु पोखरेलले कुराकानी गरेर तयार पारेको सामग्रीः

संविधानले जनमत रोक्नु भन्ने ब्याख्या गर्नै सक्दैन
अर्जुन ज्ञवाली, विश्लेषक
चुनावबाट बहुमत आएपछि लोकतान्त्रिक प्रणाली भएका संसारका जुनसुकै देशमा नयाँ सरकार बन्ने चलन छ । संविधानमा कहाँ के लेखियो, भाषा कस्तो छ त्यो महत्वको कुरा होइन । लोकतान्त्रिक ब्यवस्था भएको संविधानमा जनताले बहुमत दिएपछि सरकार गठन गर्न रोक्ने प्रावधान नै हुँदैन । यहाँ त बखेडा झिकेर रोकिएको हो । कांग्रेस नीति नियम, नैतिकता, लोकतान्त्रिक प्रणाली भन्ने शब्दसँग किन यति विमति राख्छ बुझ्न सकिएको छैन । चुनावबाट पराजित भएको दलले भोलिसम्म प्रभावित हुने निर्णय गरेर सत्तामा बसेको देखिन्छ । यो लाजमर्दाे छ ।

जसले देशको समृद्धि चाहंदैन, जनताको मतको कदर गर्न जानेकै छैन, उनैले हो जनमत अड्काएर देशलाई अन्यौलमा राखेको । काग्रेसले जनताबाट आएको मतलाई अनेक बहानाबाजी गरेर रोक्ने प्रयास गरिरहेको छ । यो हिजो कांग्रेसले गरेको गल्ती भन्दा झनै खतरानाक छ । यो जनमत रोक्ने कुचेष्टा नगरोस् ।

जसले जनताका अपेक्षा विरुद्ध, राष्ट्रियता विरुद्ध काम गर्छन् उनीहरु जनताबाट दण्डित हुन्छन् । जनताले दण्डित गरेको शक्ति नेपाललाई अस्थिर बनाउन विदेशीसँग सहकार्य गरिरहेको छ । हिजो इण्डो–पश्चिमा शक्तिले अस्थिरताका लागि माओवादीलाई प्रयोग गरेको थियो । माओवादीलाई त्यताबाट थुतेर एमालेले आफूतिर तान्यो । त्यसैले इण्डो–पश्चिमा शक्ति तिल्मिलाई रहेको छ । र एमालेलाई खासगरी त्यसका अध्यक्ष केपी ओलीलाई कसरी ड्राइभिङ सिटमा पुग्न नदिने भन्ने उपाय खोजिरहेको छ । त्यो शक्तिले आज कांग्रेसलाई प्रयोग गरेको छ । हिजो कांग्रेसमा विचारले लिड हुन्थ्यो । आज कांग्रेस सम्राज्यवादको निम्ति काम गर्ने निभ्नलागेको बत्ती जस्तो भएको छ ।

मत परिणाम रोक्ने सबै खेल बाह्य शक्तिकै आडमा
द्वारिकानाथ ढुगेल, पूर्व सचिव
हामीले मात्र कस्तो दल बनाएर पठाएछौं हेर्नुस त ? यो वनावटी रुपमा संवैधानिक मुद्दा जस्तो देखाइएको छ तर, यसमा बाह्य शक्तिको खेल लुकेको छ । एउटा पार्टी त्यत्रो जनमत लिएर बाहिर बसेको छ, त्यसलाई रोकेर अनिर्वाचित पक्षले मनलाग्दी गर्ने काम भइरहेको छ । लोकतान्त्रिक मुल्य भएका देशमा जितेर आउने दललाई छोडेर जाने दलले यस्तो काम भइरहेको छ, यस्तो गर्नुपर्छ भनेर वधाई दिंदै बागडोर सुम्पिन्छन् नि । यहाँ त एकपछि अर्काे कानुनी लफडा खोजेर अस्थिर बनाउने, द्वन्द्व उत्पादन गर्ने प्रयास भइरहेको छ ।

काग्रेसले हिजो ओलीलाई सरकारबाट निकाल्न माओवादीलाई प्रयोग गरेको थियो । त्यसका पछाडि भारत थियो, नेपालमाथि भारतीय स्वार्थ थोपर्ने प्रयास थियो । भारत जो उसको स्वार्थको धारमा आइपुग्छ उसैलाई देशको अस्थिरताको लागि प्रयोग गर्छ । अहिले कांग्रेस भारतीय स्वार्थमा प्रयोग भइरहेको छ । फेरि माओवादीलाई पनि प्रयोग गर्दैन भन्न सकिंदैन ।

नेपाल चीनसँग नजिक भएको प्रायोजित रुपमा देखाउने प्रयास उनीहरुले गर्छन् । नेपाल सार्वभौम देश हो, एउटा छिमेकीको विरुद्धमा पो प्रयोग हुन सक्दैन त, आफ्नो देशको हितमा सबैसँग सम्बन्ध राख्न स्वतन्त्र हुन्छ । आफ्नो हितमा काम गर्न खोज्नुलाई यहाँ चीनसँग जोडिदिन्छन् जवर्जस्ती । यसो किन गरेका हुन् भने नेपालको विकास भयो भने र यहाँ समृद्धि भयो भने उनीहरुको खेल्ने ठाउँ हुँदैन । यहाँ विदेशीहरुले गरिवीमाथि खेलेर अस्थिरता निम्त्याएका हुन् । अस्थिरताका लागि खेल्ने बाटो बन्द हुन्छ भनेर अहिले उनीहरु जसरी पनि ओलीलाई रोक्ने ध्याउन्नमा छन् । ओली प्रधानमन्त्री बन्छन् कि बन्दैनन् भन्दा पनि यो नेपालको स्वाधीता र समृद्धिको बाटो रोकिन्छ कि रोकिंदैन भन्ने विषय हो ।

मेरो विश्लेषण गलत सावित होस् तर, म त ओलीबाट प्रचण्डलाई फुटाएर लाने सम्भावना अझै देख्छु । माओवादी नेताको घाँटीमा हेग, युद्धअपराध र पैसाको तरवार ल्याएर तर्साउँछन् । अहिले पनि तर्साइरहेका छन् । यो कांग्रेसले एक्लै गरेको छैन । चुनावमा आफू लज्जाजनक हार ब्यहोर्दा पनि लाज पचाएर कांग्रेस त्यसै सरकारमा बसेको छैन । हेर्दै जाउँ, यिनीहरु कस्तोसम्म खेल खेल्छन् । अति भएपछि जनता सडकमै उत्रिएर विरोध गर्नु पर्ने दिन आउन सक्छ ।

अहिलेको गतिरोध इण्डो–पश्चिमाको चलखेलका कारण भएको हो
पेशल निरौला, प्राध्यापक
प्रजातान्त्रिक मुल्य मान्याता अनुरुप जनताको जनमत लिएर आएको शक्तिलाई सत्ता हस्तान्तरण गर्नु विश्वब्यापी मान्यता हो ।

नेपालमा भने जनताले बागडोर सम्हाल्न दिएको जनमतलाई बाहिर राखेर जे कसरत भइरहेको छ यो लोकतन्त्रको विश्वब्यपी मान्यता र परम्परा विपरित कुरा हो ।
अचम्मकै कुरा के छ भने कांग्रेस जो प्रजातन्त्रको लागि भन्दै इतिहासको हरेक कालखण्डमा लड्दै आयो त्यहि दल यो प्रजातान्त्रिक मान्यताको खिलाफमा छ ।
पहिले पनि गिरिजाले चार महिनासम्म नयाँ जनमत विरुद्ध सत्ता ओगटेर राखे । अहिले शेरबहादुर पनि त्यहि बाटोमा छन् । तर फरक के छ भने अहिले कांग्रेसलाई माओवादीले पनि साथ दिएको छ । माओवादी पनि सरकारमा छ । उसले आफ्नो स्पेश बनाउन एमालेमा वर्चश्व बढाउन दोहोरो भूमिका खेलिरहेको छ । यसमा कांग्रेसलाई र बिदेशीहरुलाई खेल्ने ठाँउ खडा गरिदिइको छ । माओवादीमा सत्ता लिप्सा देखिन्छ । यसरी यो ग्यापलाई एमालेसँग बार्गेनिङ गर्ने प्वाइन्ट बनाएको छ माओवादीले । यदि भने अनुसार भएन भने ओलीलाई दोष लगाई काग्रेसको बृत्तमा माओवादी आउने देखिन्छ । यस्ता क्रियाकलापले नयाँ ब्यवस्थालाई कमजोर बनाउने प्रयास हुन्छ । नेतृत्वले यो ब्यवस्था धान्न सक्दैन भन्ने मनोविज्ञान दिने कोसिस हो यो ।

हरेक एउटा भोटर्सले भन्न सक्छ– यो जनमत केपी ओलीको नेतृत्व र चिनियाँ रेलसँगै आउने समृद्धिको आशाका कारण आएको हो । एमाले भन्ने दलका कारण पनि यो आएको होइन । एमाले त हिजो पनि थियो नि । तर, कस्तो निर्णयको बन्दी दल थियो त्यो, हामी सवैले देखेकै कुरा हो ।

सुगौली सन्धीपछि नेपाली जनताले आफ्नो नेतृत्वलाई यसरी पहिलो पटक आफ्नो विश्वास दिएको हो । राष्ट्रले यतिबेला केपी ओलीको नेतृत्व चाहेको छ । यो अवसरलाई गुम्न दिनु हुन्न । यो अवसर ओलीको हातबाट खोस्न विदेशी शक्ति लागेका छन् । यो यति छताछुल्ल भयो कि ओलीकै पार्टीका केहि मान्छे पनि खुलेरै लाग्न थालेका हुन् कि भन्ने संकेत देखिन्छ । देश विकासको गति बोकेर आएका ओलीलाई रोक्ने प्रयास अझै बढाउन सक्छन् । त्यो देशकै लागि दुःखद् हुन्छ ।

स्थानीय तहमै हेर्ने हो भने पनि ओलीले जे जनमत ल्याएका थिए, प्रदेशमा र केन्द्रमा पनि त्यति नै मात्रामा एमालेले मत ल्याउँथ्यो । तर देशमा उनलाई हराउन अर्को खेल खेलिंदै थियो । पश्चिमा र भारतले तराईका दलहरु, काग्रेस र माओवादीलाई मिलाएर ओली विरुद्ध उभ्याउने तयारी गरिरहेको थिए । यसो गरेर उ भारतका हरेक एजेण्डामा हिंड्ने सरकार बनाउने तयारीमा थियो । यो कुरा ओलीले थाहा पाए र ठूलो छाती बनाएर माओवादीलाई ६०–४० प्रतिशतको भागबण्डामा राखेर अगाडि बढे । त्यसै कारण सकिएको माओवादी यो साइजमा आयो ।

तर ओलीकै कारण त्यो हाइटमा आएको माओवादी अहिले पनि फेरि त्यहि क्लस्टरमा जान लम्केको शंका लाग्छ । जसका लागि इण्डो–पश्चिमाहरु लगिरहेका छन् । तपाईंले देख्नु भएकै छ– अहिले माओवादी काग्रेसका एजेण्डामा नजिक देखिन खोजिरहेको छ । प्रदेश प्रमुख र राष्ट्रिय सभाको कुरामा उ कांग्रेस सँगै उभिएको छ । उ अहिले पनि सत्तामा छ । अहिले माओवादीले दोहोरो रोल खेलिरहेको छ । उसैका कारण निर्वाचन आयोग रिजल्ट रोकेर बसेको छ । यो बीचमा अनेक खेल खेल्न खोज्नेहरुलाई माओवादीले ठाउँ दिएको छ । माओवादी अहिले पनि स्थिरता र विकासको एजेण्डा भन्दा पनि एक जना ब्याक्तिको नेतृत्वको कुरालाई लिएर बाहिरिन पनि सक्छ । त्यसैले अहिले जे देखिईरहेको छ त्यो कांग्रेस एक्लैले गरेको काम होइन । कांग्रेसले सरकार ओगटेर बसेको हुँदै हो । तर कांग्रेसलाई भित्र बाहिरबाट माओवादीले साथ दिएको छ । त्यसको गतिलो ब्याकफोर्स भारत, अमेरिका, र युरोप हो । जसले नेपालको विकास र स्थिरता चाहंदैनन् । ओलीको नेतृत्वमा आउने विकास रोक्न उनीहरु सक्रिय छन् ।

संविधानको अस्पष्टतालाई जनमतले परिभाषित गर्छ
जगमान गुरुङ, वरिष्ठ संस्कृतिविद्
चुनाव भनेको स्वयंवर हो । जसले जनताको लागि देशको लागि काम गर्छ उसैलाई जनताले पुरस्कृत गरेका हुन् । यो बेला जनता र देशको लागि ओलीले काम गरे र राज्यलक्ष्मीले ओलीलाई वरदमाला पहिर्याइन् । जनताले तोकेको ठाउँमा उनलाई आउनबाट रोक्नु वा आलटाल गरेर उनलाई पछि पार्नु जनताको अपमान हो । यतिबेला अनेक बखेडा झिकिएको छ । ओलीलाई नेतृत्वमा आउन नदिनु भनेको देशको गति रोक्नु हो । इमान्दारितामा हरेक पार्टी हुनुपर्छ । नेपालको हित चाहानेले जनताको आदेश पालना गर्नुपर्छ । एक माघले जाडो जाँदैन, भोलि अर्काे शक्तिले जित्यो भने पनि यस्तै नियम लागू हुन्छ । लोकतन्त्रमा जनादेश सबैभन्दा ठूलो कुरा हो । संसारमै यहि कुरा प्रमुख छ । बनाएका संविधानका ठेलीको परिभाषा कतै स्पष्ट छैन भने त्यसको परिभाषा जनमतले गर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖