१५ वर्षीय दीपक रानाले बनाए हेलिकोप्टर
उनले १३ वर्षीय वसन्त बुढाथोकी र १२ वर्षीय निरज रोकासँग मिलेर हेलिकोप्टर निर्माण गरेका हुन्
सल्यान । जिल्लाको सिद्धकुमाख गाउँपालिका–५ का १५ वर्षीय दीपक रानाले सानो हेलिकोप्टर निर्माण गरेका छन् । निराजन मावि ढोरचौमा कक्षा ८ का पढ्दै गरेका रानाले कक्षा ७ का १३ वर्षीय वसन्त बुढाथोकी र कक्षा ५ का पढ्ने १२ वर्षीय निरज रोकासँंग मिलेर हेलिकोप्टर निर्माण गरेका हुन् ।
उनीहरूद्वारा निर्मित हेलिकोप्टर सल्यानमा जारीे छैटौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सवमा प्रदर्शन गरिएको छ । आपूmहरूले बनाएको सानो नमुना हेलिकोप्टर यसरी महोत्सवमा प्रदर्शन गर्न पाउँदा निकै खुसी देखिएका रानाले १५ दिन लगाएर हेलिकोप्टर बनाएको बताए । ‘महोत्सवमा हेलिकोप्टर उडाउने विचार थियो तर मोटर बिग्रिएर उडाउन सकेनौं तर पछि छिट्टै उडाउनेछौं,’ रानाले भने, ‘दुई जना बस्न मिल्ने हेलिकप्टर २० मिटरजति माथि उड्न सक्छ ।’
फलाम, काठ र जस्तापाताबाट निर्मित हेलिकोप्टरमा मोटर, ब्याट्री, स्विच, हेडफोनलगायत सामग्री पनि रहेको बुढाथोकीले बताए । ‘सानो छंदा कागजको हेलिकप्टर बनाएर उडाउँथ्यौं, अहिले सानो हेलिकोप्टर बनाउन सक्यौं,’ उनले भने, ‘भविष्यमा ठुलै हेलिकोप्टर बनाउने योजना छ ।’
रोकाले भने अहिले सानो हेलिकोप्टर निर्माण गर्दा आमाबुवाको साथ पाइएको बताए । ‘भविष्यमा ठूलो हेलिकोप्टर बनाएर नेपालको आकाशमा उडाउनेछौं,’ उनले भने ।
केही स्थानीय सामग्री र केही नेपालगन्जबाट ल्याई हेलिकोप्टर निर्माण गरेको उनिहरूको भनइ थियो । महोत्सवमा उनीहरूले बनाएको हेलिकोप्टर मुख्य आकर्षणका रूपमा रहेको छ । दर्शकबाट ती किशोरहरूको प्रशंसासमेत बटुलिरहेका छन् । प्रद्युम्न उपाध्याय / राजधानी दैनिक


