जनमत गुमाएको सरकारले विवेक पनि गुमायो : राजधानी नहुँदा समृद्धि रोकिन्न
नेपालगन्ज । नेकपा एमालेका प्रदेश नम्बर ५ संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री शंकर पोखरेलले मनपरी काम गर्दै जनतमत गुमाएको वगर्तमान सरकारले विवेक पनि गुमाएको टिप्पणी गरेका छन् ।
माघ ११ गतदेखि नेपालगन्जको कारकाँदोमा सञ्चालित प्रादेशिक महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा विवेक गुमाएको टिप्पणी गरेका हुन् ।
‘जनभावना अनुसार काम गर्न नसक्दा नेपाली कांग्रेसको सरकारले स्थानीय तहदेखि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जनमत गुमाएकै हो,’ पोखरेलले भने, ‘संघियता कार्यान्वयको महत्वपूर्ण कडीका रुपमा रहेको अस्थायी राजधानी तोक्ने बेला पनि विवेक गुमायो, जसका कारण आज प्रादेशिक केन्द्र मागका लागि विभिन्न ठाउँमा आन्दोलनहरु चर्किरहेका छन् ।’
देउवा सरकारले नाटकीय रुपमा प्रदेश राजधानी तोक्ने अध्ययन टोली निर्माण गरेपनि त्यसको लाज समेत राख्न नसकेको आरोप लगाए । ‘यदि मनपरी निर्णय नै गर्नुथियो भने, किन देखाउनकै लागि कार्यदल निर्माण गरियो,’ आक्रोश पोख्दै उनले भने, ‘कार्यदलले दिएको अध्ययन प्रतिवेदन रद्दीको टोकरीमा मिल्काएर एकल निर्णय गरियो, विवेक गुमाएर विना आधार अस्थायी केन्द्र तोकिएकै कारण सर्वत्र जनता आन्दोलित छन् ।’
नेता पोखरेलले वर्तमान सरकारले अस्थायी केन्द्रलाई समेत परिवर्तन गर्न नसक्ने गरी निर्णय गरेको उल्लेख गरे । प्रदेशसभाको दुई तिहाई बहुमतले मात्रै स्थायी राजधानी परिवर्तन गर्न सकिने भएकोले तत्काललाई कुनैपनि ठाउँमा स्थायी तोक्न सम्भावना नभएको दाबी गरे ।
‘यदि बहुमतका आधारमा स्थायी राजधानी तोक्ने र दुईतिहाइले परिवर्तन नै गर्न सक्ने बनाएको भए, अस्थायी केन्द्र जहाँ तोके पनि केही फरक पर्दैनथ्यो’ उनले थपे, ‘तर अहिलेको अवस्थामा राजधानी परिवर्तनको कुरा त परै जाओस स्थायी तोक्न पनि मुस्किल छ, त्यसैले जहाँ अस्थायी तोकिएका छन्, त्यहाँबाट अन्त सार्न सम्भव छैन ।’ सरकारले कुनै आधार, मापदण्ड र बिना मुल्यांकन प्रदेश केन्द्र तोकिएको भन्दै आपत्ति प्रकट गरे ।
राजधानी नहुँदा समृद्धि रोकिन्न
नेता पोखरेलले राजधानी नभएकै कारण कुनै पनि स्थान विकासको बाटोबाट पछाडि नहट्ने बताएका छन् । नेपालगन्जमा राजधानी मागका लागि तीव्र आवाजहरु उठिरहेको सन्दर्भमा समृद्धिका लागि राजधानी नै आवश्यक हुन्छ भन्ने सोचाईमा नरहन सबैलाई अनुरोध गरे ।
‘राजधानी नहुँदैमा विकास र समृद्धि रोकिने होइन, राजधानी भएकै ठाउँमा मात्रै विकास हुने पनि होइन’ उनले भने, ‘राजधानीको अधिकारबाट वञ्चित क्षेत्रहरुलाई विशेष आर्थिक क्षेत्रका रुपमा अगाडि बढाउनुपर्दछ, सम्भावनाहरुलाई हेरेर योजना बनाउँदा सबै क्षेत्रलाई समान तरिकाले समृद्ध बनाउन सकिन्छ ।’
आर्थिक समृद्धि र विकासको ढोका खोल्ने चावी जननिर्वाचित जनप्रतिनिधिको हातमा भएकाले सबै क्षेत्रका प्रतिनिधिहरुलाई विश्वास गर्न आग्रह गरे । साथै जनप्रतिनिधिहरुले पनि आफ्ना क्षेत्रका समस्या समाधान र समृद्धिका लागि सम्भावित योजनाहरुलाई बलियो एजेण्डाका रुपमा अगाडि सार्न सुझाव दिए ।
यस्तै, नेता पोखरेलले फरक प्रशंङ्गमा आन्तरिक लगानीका योजनाहरु मात्रै समयमै सफल भएको दाबी गरे । ‘अनुदानका आयोजनाहरु सफल भएका देखिँदैनन्, अनुदानकर्तालाई छिमेकी राष्ट्रले प्रभावित गरी सफल हुनै दिँदैन’ उनले भने, ‘अब हामी पनि हाम्रो प्रदेशको समृद्धिका लागि अनुदानमा होइन, आफ्रनै लगानीमा समृद्धिका आयोजनाहरु निर्माण गर्न सुरु गरौं ।’
समापन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक क्रान्तिका लागि आन्दोलन जरुरी भएको बताएका छन् । स्थानीय स्तरमै उद्योग स्थापना र रोजगारी सिर्जना हुने आन्दोलनले नै नेपाली समाजलाई प्रगतितर्फ लैजाने दाबी गरे । बाँकेका जनप्रतिनिधिहरुले बाँकेको इतिहासलाई मेटाउने प्रयास गरेकोमा सरकारको अलोचना गरेका थिए ।
प्रदेशसभा सदस्य मोहम्मद याकुव अन्सारीले मध्य तथा सुदुरपश्चिमको केन्द्र नेपालगन्जलाई जसरी पनि आफ्नो अधिकार दिनुपर्ने दाबी गरे । यस्तै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलसमशेर राणाले नेपालगन्जलाई उग्र नबनाउन सरकारलाई चेतावनी दिए ।
‘नेपालगन्जले क्षति हुने गरी उग्र हुन नचाहेको मात्रै हो, शान्तिपूर्ण तरिकाले अधिकार प्राप्त हुन्छ भन्ने आशा अझै छ’ उनले भने, ‘यदि राणाकालिन इतिहासदेखिको शहरको अस्तित्व मेटाउन खोजे हामीले नयाँ प्रदेशको विषयमा सोच्नुपर्ने हुन्छ, प्रदेश टुक्रिँदा हुने घाटा सरकार आफैले बेहोर्नुपर्छ ।’
नेपालगन्जः प्रादेशिक महोत्सवको समापन समारोहमा सम्बोधन गर्दै प्रदेश नम्बर पाँच एमाले संसदिय दलका नेता शंकर पोखरेल । – गोविन्द देवकोटा / अन्नपूर्ण पोष्टबाट


