पार्टी एकीकरण र नयाँ सरकार खेलमा नयाँ मोड : ओलीको प्रधानमन्त्री बन्ने सम्भावना घट्दै

काठमाडौं, २५ माघ । केहीदिन अघिसम्म सुनिश्चित प्रधानमन्त्री भनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको बाटोमा अनेक तगारो देखिन थालेको छ। एमाले र माओवादीका उच्च नेताहरुका अनुसार राजनीतिक चलखेल ओली प्रधानमन्त्री नबन्ने बाटोमा अगाडि बढ्न थालेको छ।

भारतीय विदेश मन्त्री सुष्मा स्वराज विशेष दूतका रुपमा नेपाल आएपछि ओली प्रधानमन्त्री बन्ने झन् सुनिश्चित भन्ने गरिएको थियो। तर, त्यस विपरित ओली प्रधानमन्त्री बन्ने झन् अनिश्चित अवस्था बन्दै गएको छ।

‘पार्टी एकीकरण र नयाँ सरकार बन्ने दुई विषयलाई जोड्न नदिने ओलीको रणनीति असफल हुँदै गएको छ,’ एमालेका एक उच्च नेताले सरल पत्रिकालाई बताए। उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीको अध्यक्ष पदमा दावी गरेर गठवन्धन नै तोड्ने लक्षण देखाएका छन्।

ती नेता भन्छन्– ‘प्रचण्डजी सहअध्यक्ष पदमा बस्न तयार भइसक्नुभएको थियो तर अहिले अध्यक्ष पद माग्न थाल्नुभयो, यसले शंकाको बातावरण सिर्जना भएको छ।’ उनी भन्छन्, ‘एमालेसँग मिलेर सरकार नै नबनाउने बाटोमा प्रचण्डजी जानुभएको संकेत हामीले पाइरहेका छौं।’

माओवादी केन्द्रका नेताहरुको भने फरक दावी छ। उनीहरुका अनुसार प्रचण्डलाई अध्यक्ष पद नदिने हो भने पार्टी एकीकरण पनि हुँदैन र एमालेसँग संयुक्त सरकार पनि बन्दैन। माओवादी केन्द्रका एक नेताको दावी अनुसार राजपा र फोरम दुवैले ओलीलाई समर्थन दिने छैनन्, माओवादीको समर्थन बिना सरकार बन्ने कुनै उपाय ओलीसँग छैन।

प्रचण्डलाई अध्यक्ष पद नदिएको अवस्थामा एकीकरण नहुने र सरकार नबन्ने अवस्था आएको जानकारी एमाले र माओवादी दुवै पार्टीका नेताहरुले दिएका छन्। एमाले नेताहरुले प्रचण्डसँग प्रश्न गरेका छन्, ‘तपाईंले आजसम्म दर्जनौं पार्टीसँग एकीकरण गर्नुभयो, आफ्नोभन्दा सानो पार्टीका नेतालाई पार्टी नेतृत्व दिनुभएको छैन, एमालेसँग चाहिँ पार्टी नेतृत्व माग्न कसरी मिल्छ ?’

गत चुनावमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सीट लिएर भागवण्डा गरेका थिए। चुनाव परिणामले एमालेको हैसियत ७० र माओवादीको हैसियत ३० प्रतिशत देखायो। दुवै पार्टीले राष्ट्रिय सभामा ७० र ३० प्रतिशतको भागवण्डा गरे। अहिले आएर प्रचण्डले अध्यक्ष पदमा दावी गरेर गठवन्धन नै तोड्ने संकेत गरेको आरोप एमाले नेताहरुको छ।

वाम गठवन्धन बनेदेखि नै प्रचण्डको पछाडि नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी लागेका र सुष्मा स्वराज आएपछि प्रचण्डले अध्यक्ष पदमा दावी गर्न थालेको एमाले नेताहरुको बुझाई छ।

‘एमालेलाई माओवादीकरण गर्ने पक्षमा भारतीय राजदूत छन्, सुष्माले यही खेल रचेर गइन्,’ एमालेका एक उच्च नेता भन्छन्। उनका अनुसार स्वराजको भ्रमणमा प्रचण्डलाई उकासेर अध्यक्ष पद माग्न लगाउने र ओलीलाई प्रधानमन्त्री बन्न नदिने खेल रचना गरिएको छ।

विद्याको चिन्ता
राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्डलाई पार्टी अध्यक्ष दिनुपर्ने पक्षमा उभिएको बुझिएको छ। ओलीलाई प्रधानमन्त्री बन्न दिने पक्षमा प्रचण्ड छैनन्, प्रचण्डलाई जसरी पनि फकाउन अध्यक्ष पद दिनुपर्ने र ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने राष्ट्रपति कार्यालयको सेरोफेरोमा रहेकाहरुको बुझाई देखिन्छ।

राष्ट्रपति निकट एक स्रोतका अनुसार प्रचण्डलाई अध्यक्ष दिएमा ओली पनि प्रधानमन्त्री बन्छन् र आफू पनि राष्ट्रपतिमा दोहोरिन पाउँछु भन्ने विद्याको रणनीति हो। यही कारण प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा विद्या उभिएकी हुन्।

नेपाल र खनालको मौनता
तर यो राजनीतिक चलखेलमा एमालेका बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालको मौनताले अध्यक्ष ओली पक्षलाई सशंकित पारेको देखिएको छ। उनीहरु दुबैजना भावी राष्ट्रपतिका आकांक्षी हुन्। त्यसैले केहीदिन अघि ओली र दाहाललाई शीतल निवासमा दिईएको दिवाभोजप्रति नेपाल र खनालको असन्तुष्टी रहेको थाहा भएको छ।

नेम्वाङ्गको चाल
एमाले उपनेता सुवास नेम्वाङ्गले भने भण्डारीलाई नै राष्ट्रपतिमा दोहोर्याउन उपयुक्त हुन्छ भनेर ओलीलाई उचालीरहेको थाहा भएको छ। नेम्वाङ्गकै सल्लाहमा शीतल निवासमा दिवा भोजको आयोजना गरिएको एमालेको नेपाल निकट स्रोतले बताएको छ। नेम्वाङ्ग पनि पाए राष्ट्रपति बन्न चाहन्छन् तर हाललाई उनको पालो आउने संभावना नरहेकोले ओलीलाई सहयोग पुग्ने काम गरेर कुनै उपयुक्त जिम्मेवारी लिने दाउमा छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।