‘जघन्य हत्याका घटनामा प्रचण्ड आफैंले पीडित परिवारसँग माफी माग्नुपर्छ’ भन्दै वामदेव कड्किएपछि…
काठमाण्डौं, २१ फागुन । १९ वर्षअघि माओवादीबाट मारिएका रुकुमका तत्कालीन एमाले सचिव यदु गौतमको स्मृतिमा सोमबार काठमाण्डौंमा आयोजित कार्यक्रममा एमाले–माओवादी केन्द्रका नेता एकै मञ्चमा उभिए ।
१९ वर्षअघि जसलाई दुश्मन भनेर हत्या गरियो, तीनै व्यक्तिलाई शहीद भनेर माओवादी नेता जनार्दन शर्मा शहीदको फोटोमा माल्यार्पण गरे ।
अनि मारिने यदु गौतमकी बिधवा तीर्था गौतम माओवादी पार्टी र आफू आबद्ध पार्टी एमालेबीच एकीकरण हुन लागेकोमा खुसी व्यक्त गर्दै थिइन् । २०५५ फागुन २१ गते एमाले रुकुमका तत्कालिन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार यदु गौतमको माओवादीहरुले घाँटी काटेर हत्या गरेका थिए । गौतमकी बिधवा तीर्था गौतम, जो अहिले एमालेबाट सांसदसमेत भएकी छन् ।
उनले गला अवरुद्ध पार्दै जनार्दनतिर फर्किएर सोधिन्, ‘कमरेड यदु गौतमले युद्धकालमा धेरै माओवादीलाई बचाउनुभयो । मैले घरको बुइँगलमा लुकाएर धेरै माओवादीलाई भात खुवाएँ । तर, तीनै यदु गौतम किन मारिए रु आजसम्म मैले यसको जवाफ पाएकी छैन ।’
तीर्थाले यो प्रश्न गरिरहँदा एउटा प्रसंग स्मरण गरिन् । त्यो बेला यदु वकिलसमेत भएकाले रुकुम सदरमुकाम बसेर माओवादी नेता कार्यकर्ताको पक्षमा मुद्दा लडेर जोगाउँथे ।
तर, गाउँतिरका माओवादी यदुलाई सुराकी भन्दै हत्याको धम्की दिइरहेका थिए । उनले त्यसबेला यो कुरा गर्दा यदुले भनेछन्, ‘उनीहरु बुलेटको बाटोमा छन्, हामी ब्यालेटको बाटोमा छौं । एकदिन हामी फेरि एक ठाउँ आउने निश्चित छ ।’
उनले भनिन्, ‘यदु किन मारिए आजसम्म मैले जवाफ पाएकी छैन तर, उहाँको भावनाको जित भएको छ । पार्टी एकताले हाम्रो घाउमा मल्हम लागेको छ ।’
यदु माओवादी विद्यार्थी संगठनमा महासचिव थिए । यदु जेल पर्दा जनार्दन भेट्न जान्थे । पछि यदु माओवादी छाडेर एमाले भए । तर, उनीसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको स्मरण गर्दै जनार्दनले यदुको हत्या माओवादी आन्दोलनका गम्भीर भूल भएको बताए ।
यदुको हत्या हुँदा आफू सेती महाकालीको मोर्चामा रहेको भन्दै शर्माले त्यतिबेला नै आफूले पार्टीभित्र यदुको हत्या किन भयो भनेर असहमति राखेको स्मरण गरे ।
यदुको हत्या पार्टीको केन्द्रीय योजनाबाट नभई स्थानीय अराजकताका कारण भएको उनले स्वीकार गरे । शर्माले भने, ‘नहुनुपर्ने घटना किन भयो भनेर मैले पार्टीको ब्यूरो बैठकमा उठाएँ, त्यसको छानबिन गर्न केन्द्रीय तहबाटै समिति बन्यो । उहाँको हत्या पार्टीको योजनामा भएको थिएन । स्थानीयस्तरका केही व्यक्तिको अराजकताका कारण नहुनुपर्ने घटना भयो । त्यसैले त्यतिबेलै आत्मालोचनासहित विज्ञप्ति पनि जारी गरियो । कमरेड तीर्थाको प्रश्नको जवाफ भोलि फेरि पनि हामी खोजौंला ।’
तीर्था र जनार्दनको सवाल जवाफमा वामदेवले पनि केही थपथाप पारे । उनले यदु गौतमको हत्या उग्रवामपन्थी अराजकतावाद र आतंकवादले गरेको भन्दै माओवादीले ऊबेलै गल्ति स्वीकार गरेको बताए । यद्यपि प्रचण्ड आफैंले माफी माग्नुपर्ने मत पनि राखे ।
‘जनयुद्धमा माओवादीबाट हाम्रा २ सय नेता कार्यकर्ता मारिए । राज्यपक्षले एक सयजना मारेको हो । अरु धेरै निहत्था मान्छे मारिएको छन्’ एमाले उपाध्यक्ष गौतमले भने, ‘जघन्य हत्याका घटनामा प्रचण्ड आफैंले पीडित परिवारसँग माफी माग्नुपर्छ । अरु कुरा सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नेछ ।’ – काठमाण्डूटुडेबाट


