९० वर्ष माथिका जेष्ठ नागरिक सम्मानीत !
धनकुटा । आज अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस धनकुटामा पनि विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाईएको छ ।
यो दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रममा ९० वर्ष माथिका ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको आयोजनामा भएको कार्यक्रममा धनकुटा नगरपालिका वडा नं ६ का ९३ वर्षकी वर्ष कुमारी श्रेष्ठ,९० वर्षका राम वहादुर श्रेष्ठ,धनकुटा नगरपालिका ३ का ९० वर्षका नन्दलाल श्रेष्ठ, धनकुटा नगरपालिका ७ का ९१ वर्षका नर वहादुर डंगोल र धनकुटा ५ का ९१ वर्ष कै मनमाया श्रेष्ठ लाई प्रति व्यक्ति नगद १ हजार ५ रुपया प्रदान गर्दै सम्मान गरिएको संघले जनाएको छ ।
जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष राम वहादुर श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई ‘म्यूजिकल चियर’ खेल पनि खेलाईएको थियो ।

सो खेलमा हिरामाया नेवा खड्गी प्रथम, समुन्द्र श्रेष्ठ दोश्रो र सिता कार्की तेश्रो भएकाछन् । उनीहरुलाई क्रमश नगद रु ४ सय ३ सय र २ सय रुपयाँ पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा हिरामाया नेवा खड्गी, ईन्द्र वहादुर ढुंगेल, गोमा परियार र अप्सरा दाहालले जेष्ठ नागरिक सँग सम्वन्धित गीत गाएर मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष ईन्द्र वहादुर श्रेष्ठले राख्नुभएको थियो भने सञ्चालन सचिव कृष्ण भागवत श्रेष्ठले गर्नुभएको थियो ।
धनकुटा जिल्लामा झण्डै १५ हजार जेष्ठ नागरिक रहेकाछन् । जस मध्ये ७ सय २२ जना जेष्ठ नागरिक जिल्ला संघको आजीवन सदस्य रहेको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
कार्यक्रम गर्नुअघि जेष्ठ नागरिकहरुले धनकुटानगरमा र्याली समेत प्रर्दशन गरेका थिए ।


