राजनीतिका खेलाडी कमल थापा पोखरा रङ्गशालामा प्रतिस्पर्धा गर्दै

पोखरा । अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुनुहुन्छ । सोमबार सम्पन्न ५५ वर्षमाथिको एकलमा पूर्वउपप्रधानमन्त्री थापाले फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । उहाँले भारतका आदित्य कर्नानीको चुनौती ६–३ र ६–१ को सजिलो सेटमा हराउँदै अन्तिम प्रतिस्पर्धाका लागि आफूलाई उतार्नुभएको हो । उपाधिका लागि उहाँले अब कृष्णराज घले र अनिल तुलाचनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुहुनेछ ।

त्यस्तै ५५ वर्षमाथिको डबल्समा भने नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीले थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको पहिलो सेट थापा जोडीले ६–० ले लिँदै उत्कृष्ट खेल प्रदर्शन गरे पनि दोस्रो सेटको खेल ७–५ ले आफ्नो पक्षमा पार्दै राणा जोडी खेलमा फर्किएको थियो । निर्णायक सेट राणा जोडीले सुपर टाइमा १३–११ ले आफ्ना पक्षमा पारेपछि थापा जोडी अन्तिम दुईको प्रतिस्पर्धाबाट बाहिरिएको थियो ।

सोमबारको खेलपछि थापाले खेलमा मनोवैज्ञानिक पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । खेलमा सामान्य गल्तीले पनि धेरै प्रभाव पार्ने उल्लेख गर्दै उहाँले जीतहार सामान्य प्रक्रिया भएको धारणा व्यक्त गर्नुभयो । खेललाई निकै अभिरुचिका साथ हेरिरहनुभएका उहाँकी धर्मपत्नी प्रलिताले भन्नुभयो, “खेल त राम्रै खल्नुभएको हो, तर अलिक बढी हतारिनुहुन्छ, मैलै धेरै पटक नहतारिनू भन्ने गरेकी छु ।”

पिता कर्णेल छत्रबहादुरको प्रेरणाबाट आफूसहित परिवार नै खेलतर्फ अभिप्रेरित भएको बताउँदै थापाले खेलकूदका अनुशासन र आदर्शलाई आफूले व्यक्तिगत जीवनका साथै राजनीतिमा महत्वपूर्ण पूँजीका रुपमा लिने गरेको उल्लेख गर्नुभयो । “खेलकूदमा मेरो बाल्यककालदेखिकै लगाव थियो, शुरुमा फुटबल धेरै खेल्थेँ, टेनिस पनि खेल्दै आएको छु”, उहाँले भन्नुभयो । उहाँले फुटबल एवं टेनिसका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई उभ्याइसक्नुभएको छ । उहाँ दैनिक साढे एक घण्टा नियमित खेल्नुहुन्छ भने एक घण्टा सुदर्शन क्रियाको योग गर्नुहुन्छ ।

विद्यमान नेपाली राजनीतिमा अस्थिरता, अराजकता र अन्योल देखिएको बताउँदै उहाँले तत्कालीन निकासका लागि भने सरकारलाई काम गर्न दिनुपर्छ भन्नुभयो । सङ्घीयता, धर्म निरपेक्षताजस्ता विषयले राज्यमा जटिलता सिर्जना गरिरहेको आफ्नो स्पष्ट दृष्टिकोण भएको उहाँको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।