धनकुटाको पाख्रीबासमा चिया उद्योग निर्माणसँगै निराश किसान पुनः उत्साहित !
धनकुटा खबर । वगानमा उत्पादित चिया तयार गर्न आवश्यक क्षमताको मेशीन, उद्योग, तयारी चिया विक्रिका लागि आवश्यक वजार,चिया टेष्ट गर्ने प्रविधि र कामदार अभाव लगायतका कारणले चिया खेती प्रति निराश बन्दै गएका धनकुटाका किसान फेरी केही उत्साहित भएकाछन् ।
जिल्लाको पाख्रीवास नगरपालिका ७ राम्चे अर्गानिक चिया उत्पादक सहकारी संस्थाले वढी क्षमताको नयाँ उद्योग निर्माण गरेसँगै त्यहाँका किसानहरुमा यो खेती प्रति केही आशा पलाएको हो । उद्योगले अहिले उन्नती परियोजनाको २७ लाख र वाँकी आफ्नै लगानीमा ३० फुट उचाई, ६० फुट चौडाईको भवन निर्माण, नयाँ मेशीन खरिद लगायतको काम गरिरहेको छ ।

यो भवन निर्माणको करिव ६० प्रतिशत काम भईसकेको चिया कृषक तथा सहकारी संस्थाका संस्थापक अध्यक्ष गोविन्द थापाले वताउनुभयो । वाँकी काम आउदो वैशाख महिना अघि सकेर उद्योग सञ्चालनमा ल्याउने गरी काम भईरहेको उहाँले वताउनुभयो ।
कृषक थापाका अनुसार यो नयाँ उद्योगमा दैनिक १ हजार के जी चिया तयार गर्ने मेशीन राखिने लक्ष छ । वढी क्षमताको मेशीन राखेपछि सहकारीमा सम्वद्ध सहित जिल्लाका अन्य चिया किसानहरुले उत्पादन गरेको चिया समेत यहाँ लिने लक्ष राखिएको उहाँको भनाई छ ।

यसअघि सहकारीमा सम्वद्ध किसानको चिया समेत तयार गर्न नपाएर खेर फाल्नु परिरहेको अवस्थामा यो उद्योग सञ्चालनमा आएपछि किसानहरुलाई केही भएपनि राहत पुग्ने चिया कृषक तथा सहकारी संस्थाका अध्यक्ष मदन राईले वताउनु भएकोछ ।
अहिले यो सहकारीमा सम्वद्ध जम्मा ६० जना किसानको ६ सय के जी सम्म चिया उत्पादन हुने गरेको छ । २०६८ देखी सञ्चालित यहाँको उद्योगमा अहिले चिया वनाउने मेशीनको क्षामता भने करिव १ सय के जी को मात्र भएकोले कतिपय किसानको चिया त्यतिकै हुर्केर खेर गईरहेको छ ।

अन्य समस्याको तत्काल समाधान नभएपनि वढी क्षामताको मेशीन उद्योगमा राखेपछि कम्तिमा सहकारीमा सम्वद्ध किसानहरुको वगानमा उत्पादन भएको चिया खेर नजाने अध्यक्ष राईले वताउनुभयो ।


