राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, यस्ता छन् कार्यक्रमहरु

काठमाडौं, १५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भ्रमणमा वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली सहभागी छ । राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि आइतबार उहाँले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नुहुनेछ ।

उहाँलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा मन्त्रीलगायत उच्च सरकारी अधिकारी र सुरक्षा प्रमुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुग्नुभएको थियो । सो क्रममा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीका सम्मानमा २१ तोपको सलामी अर्पण गरेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार नै राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फरनान्डा इस्पिनोसा ग्रासेसले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी र पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाबीच आगामी मङ्गलबार द्विपक्षीय भेटघाट हुने जनाइएको छ । राष्ट्रपति भण्डारी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षको २४ औँ सम्मेलन (कोप २४) पोल्याण्डको कातोबीचेमा मङ्सिर १६ देखि २८ गतेसम्म आयोजना हुँदैछ । विश्वका १९६ मुलुकका करीब ३० हजार व्यक्तिले भाग लिने सो सम्मेलनलाई जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय मेलाका रुपमा लिइएको छ ।

उपराष्ट्रपतिलाई जिम्मेवारी

राष्ट्रपति भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ ।

राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।