बहराइन हिँडेका ढालबहादुरको सपना ह्विलचेयरमै खुम्चियो

काठमाडौं। साँच्चै जीवन सोचेजस्तो नहुने रहेछ! यदि सोचेको जस्तै जीवन हुँदो हो त, यतिबेला बहराइन गएर श्रम बेचेरै भएपनि परिवारलाई खुसी दिन सक्थे होलान् ढालबहादुर बस्नेत। अनि, मुटुको रोग लागेर हर दिन उपचारको अभावमा घरिघरि मुटु दुखाइको पीडामा छटपटाइ रहेकी आफ्नी श्रीमती भगवतीको पनि उपचार गर्ने सामथ्र्य राख्थे होलान्।

हो, रामेछाप गुम्देन– ९ का ढालबहादुर बस्नेतको जीवन कहिल्यै नसोचेको जस्तो भयो। वैदेशिक रोजगारीमा जान भनेर रामेछापबाट काठमाडौमा आएका उनी काठमाडौंमा माओवादी र प्रहरीबीचको दोहोरो भिडन्तमा परे। उनी घाइते भए। उनको शरीर बम र बारुदले छियाछिया बनायो। उनी हिडँडुल गर्न असमर्थ भए। अहिले ह्वील चियरको सहायतामा बाँच्न बाध्य छन्। द्वन्द्वकालले उनको जीवनमा बज्रपात पर्यो र सपना सबै ह्वील चियरमा थन्कियो।

बस्नेत सहिद दिवसका दिन काठमाडौंको भृकुटी मण्डपमा ह्वील चियरमा छोरीको सहारामा भेटिए । बस्नेतको अवस्था हेर्दा र उनका कुरा सुन्दा हर कोहीका आँखा रसाउँछन्। ह्वील चियरबाटै बस्नेतले रुँदै भने, ‘द्वन्द्वकालमा शरीर नै सकियो, विदेश गएर पैसा कमाएर परिवारलाई खुसी दिने सपना बोकेको मान्छे अरुको सहारामा घिस्रिनुपर्ने भयो। सरकारले हामीलाई बेवास्ता गर्यो।’

द्वन्द्वकालको समयमा घाइते भएर जीवन मरणको दोसाँधमा पुगेका बस्नेतको उपचार सरकारले गर्यो। सरकारले २०६२÷०६३ को जनआन्दोलनमा २० प्रतिशत भन्दाबढी घाइते भएकालाई आजिवन उपचार सेवा प्रदान गर्ने र २० प्रतिशत भन्दा कम घाइते भएका श्रमिकलाई सरकारी अस्पतालमा उपलब्ध बहिरङ्ग लगायतका सामान्य सेवा तथा सुविधाको उपचार गर्ने जनाएको थियो। सरकारले उनलाई आन्दोलनमा १०० प्रतिशत अपांग भएको प्रमाण पत्र दिएको छ। उपचारका लागि पनि निशुल्क सेवा दिएको छ।

‘दिनदिनै औषधि खानुपर्छ परिवारको जिम्मेवारी सम्हाल्ने मान्छे म आँफै यो अवस्थामा छु। सरकारले औषधि त दिन्छ तर वीर हस्पिटलमार्फत दिन्छ कहिले औषधि सक्कियो भनेर बाहिर जानुस् किनेर लैजानुस् भन्छ। पैसा छैन कहाँबाट औषधि ल्याउनु, नियमित औषधि नि खान नपाउने समस्या हुन्छ। पलपल छटपटाएर बाँच्न निकै गाह्रो छ,’ उनले आफ्नो पीडा सुनाए।

उनको शारीरिक अवस्था निकै जटिल देखिन्छ। शरीर थरथर काँपीरहने समस्या छ। उनी भन्छन, ‘शरीरमा बम बारुदको छर्राले कामलाग्ने भएन त्यसपछि धेरै समस्या आइरहन्छन, खाएको पेटमा अडिँदैन, टाउको पुरै हल्लिन्छ तर उपचारमा सरकारले वास्ता गर्दैन। पोसिलो खाना खान पैसा छैन, शरीर कमजोर भएको छ।’

ढालबहादुरको परिवार द्वन्द्वकालमा विस्थापित भएको परिवार पनि हो। माओवादीले द्वन्द्वकालमा घरजग्गा हडपेर उनीहरुलाई घर निकाला गरेको ढालबहादुरले बताए। उनीसँगै भेटिएकी जेठी छोरी प्रतिमा बस्नेत भन्छिन, ‘ममी एकातिर ओछ्यानमा हुनुहुन्छ। बाबा अर्को तिर यसरी ह्वील चियरमा हुनुहुन्छ। हामीलाई खान बस्न र पढ्न निकै समस्या परेको छ।’

ढालबहादुरको ७ जना सदस्यको परिवार छ। श्रीमती, ३ छोरा र २ छोरी। सरकारले द्वन्द्वकालमा परेर घाइते भएका परिवारलाई र छोराछोरीलाई पनि राम्रो शिक्षा दिक्षाको व्यवस्था र स्वास्थ्य सेवाको व्यवस्था गर्न नसकेको भन्दै आफूजस्ता घाइतेलाई सरकारले जीउँदो सहिदको रुपमा राखेर घोषणा गर्नुपर्ने बताए। – निर्मला घिमिरे, डिसी नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖