राष्ट्रिय चिया दिवसको अवसरमा धनकुटामा सम्मान कार्यक्रम !, को-को भए सम्मानित ? – हेर्नुहोस्
धनकुटा खबर । २३ औ राष्ट्रिय चिया दिवसको अवसर पारी धनकुटाका अग्रज कफी कृषक, उत्कृष्ठ चिया कृषक र उत्कृष्ठ चिया प्रशोधन गर्ने संस्थालाई सम्मान गरिएको छ ।
राष्ट्रिय चिया तथा कफि विकास वोर्ड चिया विस्तार योजना धनकुटा १ हिलेले एक कार्यक्रमको आयोजना गरी अग्रज कफि कृषक धनकुटा २ भीर गाउँका डिल्लिश्वर दर्नाल, उत्कृष्ष्ठ चिया कृषक चौविसे गाउँपालिकाका दिलिप चेम्जोङ र उत्कृष्ठ चिया प्रशोधन गर्ने संस्था जुन चियावारी टि स्टेट लाई सम्मान गरेको हो ।

समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा चिया उद्योगको विकास र संरक्षण गरौ भन्ने नाराका साथ आयोजित कार्यक्रममा वोल्दै पाख्रीवास नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी देवकला पौडेल तिम्सिनाले चियाको विकास र गुणस्तर वृद्धीका लागि राज्य,किसान र व्यवसायी वीच राम्रो समन्वय हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले चियाले किसानलाई पाल्नुपर्नेमा अहिले चियालाई किसानले पाल्नु परेको भन्दै यो अवस्थाको सुधारको लागि पनि राज्य, किसान र व्यसायी वीच समन्वय राम्रो हुनुपर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै छथरजोरपाटी गाउँपालिका उपप्रमुख भीमकला श्रेष्ठले गाउँपालिकाले नगदेवाली चिया खेति विकास र संरक्षणमा विशेष जोड दिने भन्दै यसका लागि चिया किसानहरु सँग स्थानिय सरकार समन्वय गर्न तयार रहेको वताउनुभयो । उहाँले यो खेतीका लागि केन्द्रिय सरकावाट नीति वन्नुपर्ने समेत वताउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास वोर्डका उपनिर्देशक लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरेन तमाङले चिया व्यवसायी र मजदुर वीचको वर्तमानको विवाद समाधानका लागि केन्द्रिय सरकारले ध्यान दिनुपर्ने वताउनुभयो । उहाँले किसानको हितमा सरकारले नीति नियम वनाउन आवश्यक रहेको भन्दै त्यसको कार्यन्वयन र चियालाई विदेश निर्यात गर्ने वातावरण वनाउने प्रति ध्यान जान जरुरी रहेको वताउनुभयो । साथै मजदुरको हितमा सेवा सुविधा दिन स्थानिय सरकारले पनि पहल गर्नुपर्ने वताउनुभयो ।
वोर्डका उपनिर्देशक पोखरेलले चिया तथा कफीको संरक्षण गरे समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा हुने भन्दै हाल नेपालवाट १५ हजार ६ सय ८५ मेट्रीक टन चिया विदेश निर्यात हुँदा ३ अर्व २५ करोड वरावरको आर्थिक लाभ लिईरहेको जानकारी गराउनुभयो ।

उहाँले चिया मजदुरहरुले आफ्नो माग पूरा गराउन वन्द गर्ने प्रवृती रोक्नु पर्ने भन्दै समस्याको समाधान छलफल र वहसवाट खोज्नुपर्ने वताउनुभयो । चिया खेतिमा अहिले देखिएको समस्या सुधारका लागि आजैवाट संकल्प गरेर अगाडी वढ्न उहाँले सवैलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा पाख्रीवास कृषी अनुसन्धान केन्द्रका धमिकलाल मण्डल, गुरासे टि स्टेटका प्रवन्धक नविन कार्की,चिया सहकारी संघ धनकुटाका अध्यक्ष ईन्द्रसारु मगर,पञ्चकञ्या टि स्टेटका अध्यक्ष भीम खेवा लगायतको उपस्थिती थियो ।


