मित्रताको सम्बन्ध सीमासँग सट्टापट्टा हुँदैन : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताउनुभएको छ ।

बनेपा नगरपालिका-४ नालास्थित चण्डेश्वरी माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गर्नुभयो ।

“मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो । सीमा विवादले सरकारको ‘मन’ दुःखेको उहाँको भनाइ थियो । “छिमेकीले नक्सा जारी गरेको छ, सीमा मिचिएको छ, सरकारले अस्वीकार गरेको छ, हामी त्यो स्वीकार्न सक्दैनौँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

सरकार सीमा विवादका विषयमा छलफलमा गम्भीरतापूर्वक जुटेको मन्त्री बाँस्कोटाले बताउनुभयो । “सरकार प्रमाण खोजेर त्यस आधारमा यथोचित निष्कर्षमा पुग्नेछ”, उहाँले भन्नुभयो, “सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कूटनीतिक रुपमा छलफल गर्ने पक्षमा छ ।”

उहाँले भन्नुभयो, “सत्यको अघि झुट टिक्दैन, न्यायको अघि बल टिक्दैन, तागत टिक्दैन, त्यसैले सत्य र न्यायको लडाइँले जित्छ, जित्नेछौँ ।”

मन्त्री बाँँस्कोटाले जुनसुकै देशका लागि आफ्नो सार्वभौमसत्ता प्रिय हुने बताउनुभयो । “सार्वभौमसत्ता चीन र भारतको ठूलो, नेपालको सानो भन्ने हुँदैन, हाम्रो हक–अधिकार, हाम्रो सीमा ऐतिहासिक प्रमाणका आधारमा निर्धारण गरी छोड्छौँ”, उहाँले भन्नुभयो ।

वर्तमान सरकार हिजोको जस्तो सीमा मिची सक्यो भनेर मुन्टो लुकाउने पक्षमा नभएको उहाँको भनाइ थियो । करीब दुई प्रतिशत सीमा समाधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले समय समयमा सीमा विवाद आइरहेको स्मरण गर्दै सरकार एकतापूर्वक राष्ट्र र स्वाभिमान कायम राख्न दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “कसैको लहैलहैमा लागेर वीर गोर्खाली भनेर एकैचोटि तरबार झिक्न मिल्दैन, सोचेर, प्रमाणसहित जानुपर्छ ।”

उहाँले आजै बनेपास्थित शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभामा मुलुक निर्माणको अभियानमा सरकार रहेको बताउनुभयो । “नयाँ युगको आरम्भ भएको छ, हामी निर्माण र महानिर्माणको महाअधियानमा छौँ, हाम्रो युग शुरु भयो” मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले उत्पादनका क्षेत्रमा जनशक्ति तयार गरी मुलुकलाई समृद्ध बनाउन सरकार लागिपरेको बताउनुभयो । मन्त्री बाँस्कोटाले आजै बनेपा नपा-४ नालास्थित वडा कार्यालय तथा महादेवखोला पुलको शिलान्याससमेत गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।