नमस्ते झरनामा सेल्फि व्रीज, अब नजिकबाट तस्वीर लिन थप सजिलो
धनकुटा खबर, माघ १७ । धनकुटाको सागुरीगढी गाउँपालिका स्थितको पर्यटकीय स्थल सिम्सुवा नमस्ते झरनामा सेल्फि व्रीज निर्माण गरिएको छ ।
त्यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सेवा सुविधालाई ध्यानमा राख्दै सेल्फि व्रीज निर्माण गरिएको हो । व्रीज निर्माण भएसँगै अव त्यहाँ आउने पर्यटकहरुलाई झरना नजिकमा तस्विर लिन थप सजिलो हुने अपेक्षा गरिएको झरना व्यवस्थापन समितिले जनाएको छ ।

पर्यटन कार्यलय काकडभिट्टाको १८ लाख आर्थिक सहयोगमा झरना नजिकै करिव ३० फुट लामो सेल्फि व्रीज निर्माण गरिएको छ । गएको असार मसान्त अघिवाट थालिएको सेल्फि ब्रीज निर्माण कार्य विभिन्न कारणले केही ढिलो भएको थियो ।

खासगरी पानी परिरहेको समयमा व्रीजमा रंगरोगन गर्न नमिल्ने भएकोले काम सक्न केही ढिलो भएको थियो । अहिले झरनाको वरिपरी जोखिम युक्त ठाउँ वरिपरी पर्खाल लगाउने र तारजाली लगाउने काम पनि गरिएको छ ।

वरिपरी तारजाली लगाईएपछि अव पर्यटकहरु सूरक्षित हुने विश्वास गरिएको झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुको भनाई छ ।


