आज संविधान संशोधन विधेयक पारित हुँदै
काठमाडाैं, जेठ ३१ गते । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुअघि सदनमा विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।
नक्सा अनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधयेक दर्ता गरेको थियो । विधयेककाे पक्षमा संसदमा रहेका सबै पार्टीले मतदान गर्ने बताइएकाे छ ।


