कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन आग्रह

कैलाली, ७ असार । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले यसलाई कडा बनाउन माग गर्न थालेका छन् ।

अत्तरिया उद्योग वाणिज्य सङ्घ र गोदावरी नगरपालिकाको आग्रहमा शनिबारदेखि सो नगरपालिकाको मुख्य बजार अत्तरिया अनिश्चितकालका लागि बन्द गरिएको छ । नगरपालिकामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको एक ४६ वर्षीय पुरुषको मृत्यु समेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै थप सङ्क्रमण फैलिन नदिनका लागि ती दुई निकायको आग्रहमा अनिश्चितकाका लागि बजार बन्द गरिएको नगरप्रमुख हरिसिंह साउदले बताउनुभयाे ।

बजार खोल्दा सङ्क्रमण बढी फैलन सक्ने हुँदा अनिश्चितकालीन रूपमा बजार बन्द गरिएको सङ्घका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयाे । कैलालीकै घोडाघोडी नगरपालिकामा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जनस्तरबाट लकडाउनलाई कडा बनाउनुपर्ने माग उठ्न थालेको छ । टोलटोलमा कोरोना सङ्क्रमित भेटिँदा पनि लकडाउन नहुनु दुःखद् भएको घोडाघोडी नगरपालिका–१ का व्यवसायी अनन्त जोशी बताउनुभयाे ।

घोडाघोडी–१० का सन्तोष बराल पनि अहिलेको परिस्थितिमा लकडाउन बढाउनुको विकल्प नभएको जनाउनुभयाे । सङ्क्रमण देखिएकाहरूलाई स्थानीय सरकारले जाँचै नगरी लक्षण नदेखिएको भन्दै घर पठाएको छ उनीहरू गाउँघरमा घुमिरहेका छन् यसले जोखिम बढाएको छ, त्यस कारण पनि लकडाउन बढाउनुपर्ने उहाँको भनाइ छ ।

नगरप्रमुख ममताप्रसाद चौधरी पनि लकडाउनलाई थप कडाइका साथ लागू गर्नुपर्ने पक्षमा रहनु भएकाे छ । उहाँ भन्नुहुन्छ– ‘सङ्क्रमणको जोखिम बढ्दो छ यसको रोकथामका लागि सरकार मात्र सजग भएर हुँदैन । हरेक नागरिक सचेत रहनुपर्छ । सर्वपक्षीय छलफलपश्चात के कसरी अघि बढ्ने भन्ने विषयमा कार्यपालिकाले निर्णण गर्छ ।’

बर्दगोरिया गाउँपालिका–१ का भरत ताम्राकार गाउँपालिकामा २५ कोरोना सङ्क्रमित देखिएको र सबै गाउँघरमा रहेको हुनाले जोखिम बढ्ने चिन्ता व्यक्त गर्छन् । लम्किचुहा नगरपालिकाले सर्वपक्षीय छलफल गरेर आवश्यक कदम चाल्ने नगर प्रमुख महादेव बजगाईँले बताउनुभयाे । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖