नतिजा प्रकाशनमा विश्वविद्यालय अपेक्षाकृत सफल हुन सकेन – प्रा.डा. सुवेदी
धनकुटा खबर । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयहरुलाई नतिजा प्रकाशनमा सुधार ल्याउन तीन महिनाभित्र नतिजा निकाल्न प्रोत्साहन गरे पनि अपेक्षाकृत सफल हुन नसकेको बताउनु भएको छ ।
धनकुटा बहुमुखी क्याम्पस, धनकुटाले ६६ औं वार्षिकोत्सवको अवसरमा आज सञ्चालन गरेको “धनकुटा बहुमुखी क्याम्पसको गुणस्तर सुधार, चुनौती र सम्भावना” विषयमा जुममार्फत भर्चुअल अन्तरक्रिया कार्यक्रममा वोल्दै उहाँले त्यस्तो वताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उहाँले आफु नयाँ शिक्षा पद्धतीको योजना लागु भएपछि वि.सं. २०३० सालमा धनकुटा क्याम्पसमा सेमेस्टर प्रणालीको विद्यार्थी भएको स्मरण गर्दै अहिले पुनः उच्च शिक्षाको क्षेत्रमा विभिन्न आरोह अवरोध पार गर्दै मुलुकले उच्च शिक्षालाई सेमेस्टर प्रणालीमै फर्काएको भन्दै उच्च शिक्षाको वर्तमान अवस्था वि.सं. २०३० तिरकै अवस्थामा फन्को मारिरहेको बताउनु भयो । उहाँले अहिले विश्वविद्यालय अनुदान आयोगको तर्फबाट गुणस्तर सुनिश्चितता प्रत्यायनका लागि प्रत्येक क्याम्पसहरुलाई प्रोत्साहन गरिरहेकोमा धनकुटा क्याम्पस पनि चाँडै यो प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभएको थियो । साथै उहाँले आयोगको तर्फबाट क्याम्पसको गुणस्तर सुधार र उन्नयनको लागि सकारात्मक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यस्तैगरी कार्यक्रममा पूर्व क्याम्पस प्रमुख नारायण जोशीले आफु लामो समय धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन अध्यापन कार्यमा संलग्न रहेको, क्याम्पसको दुई पटक नेतृत्व गरेको र हाल पेन्सन लिँदै निवृत्त जीवनयापनमा रहेको स्मरण गर्नुहुँदै क्याम्पसको पुरानो साःखलाई अझ उच्च राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले धनकुटा क्याम्पसको विगतदेखि वर्तमानसम्मको याद निरन्तर रहिरहने उल्लेख गर्नुहुँदै क्याम्पसको विषयमा सोधपुछ गर्दा मात्र पनि आफुलाई मावली गएको झैं अनुभव हुने धारणा राख्नुभयो ।
धनकुटा जिल्ला प्रदेश नं. १ का माननीय निरन राईले धनकुटा बहुमुखी क्याम्पसबाट आफुले विद्यार्थी राजनीति गर्दै राजनीतिक जीवनमा प्रवेश गरेको स्मरण गर्नुहुँदै क्याम्पसमा समय र परिस्थितिलाई समेट्ने गरी विद्यार्थीहरुको रुची र चाहनाबमोजिमका नयाँ नयाँ विषयहरु पठनपाठन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको गुणस्तर सुधारका लागि प्रदेश सरकारको तर्फबाट गर्न सक्ने सहयोगको लागि पहल गर्न आफु सदैव लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सामाजिक अभियन्ता एवं धनकुटा क्याम्पसको पहिलो ब्याचका विद्यार्थी सरला कायस्तले आफु पढ्दाको क्याम्पस जीवन स्मरण गर्नुहँदै क्याम्पसको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । यस्तै धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले क्याम्पसको ऐतिहासिक पृष्ठभुमि, वर्तमान अवस्था र भावि रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जनता क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख डा. टोलनाथ काफ्ले, छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका मोहन सुवेदी र राधा ढकाल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, डा. दिलनाथ दंगाल, धनकुटा क्याम्पस एलुम्नाई एशोसिएशनका महासचिव राजन पौडेल, धनकुटा क्याम्पसका जग्गादाता कर्णेल भक्तबहादुर बस्नेतका छोरा एवं सिनेकर्मी विश्व बस्नेत, गोकुण्डेश्वर क्याम्पसका प्रमुख यज्ञप्रकाश चापागाईं लगायतले पूर्वको शैक्षिक धरोहर धनकुटा क्याम्पसको पठनपाठनको वातावरण आकर्षक हुनुपर्ने, समय सापेक्ष उच्च शिक्षा हाषिल गर्ने विद्यार्थीको इच्छापूर्ति गर्न सक्नुपर्ने सुझावहरु राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोखरेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख दिनेश अधिकारीले राख्नुभएको थियो ।
धनकुटा बहुमुखी क्याम्पस धनकुटा सदरमुकाममा करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको छ भने यसको जग्गादाताहरुबाट प्राप्त झापाको बैगुनधुरामा लगभग १०० विघाहा जग्गा समेत रहेको बताइएको छ । त्रिभुवन विश्वविद्यालयको आंंगिक क्याम्पसको रुपमा रहेको यस धनकुटा बहुमुखी क्याम्पसमा हाल त्रिविका शिक्षाशास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र व्यवस्थापन संकाय समेतका शैक्षिक कार्यक्रमहरु स्नातक र स्नातकोत्तर तहमा पठनपाठन हुँदै आएको छ भने सबै संकाय र अध्ययनसंस्थानमा गरेर एक हजार पाँच सय ८९ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
क्याम्पसमा हाल ६१ जना प्राध्यापक र ४२ जना कर्मचारीहरु कार्यरत रहेका छन् । वि.सं. २०१२ सालमा स्थापित यो क्याम्पस शुरुमा धनकुटा डिग्रि कलेजको नाममा रहेको थियो भने वि.सं. २०१६ सालमा आएर त्रिभुवन विश्वविद्यालय स्थापना भएसंगै सम्बन्धन लिएर त्रिविको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै वि.सं. २०३० सालदेखि धनकुटा बहुुमुखी क्याम्पसको नामले चिनिँदै आएको पाइन्छ ।
यस क्याम्पसमा शुरुमा दुई वर्षे आई ए अध्यापन शुरु भएको थियो भने वि.सं. २०१४ सालदेखि स्नातक तहको बिए कार्यक्रम शुरु भएको हो । वि.सं. २०३४ सालदेखि मात्र शिक्षाशास्त्र संकायको कार्यक्रम शुरु भएको यो क्याम्पस पछिल्लो समय शिक्षा क्याम्पसको रुपमा पूर्वाञ्चलमा प्रख्यात रहँदै आएको छ ।


