नागरिकको गुनासो सुनुवाई गर्न धनकुटाको चौबिसे गाउँपालिकाले वितरण गर्यो सुझाव पेटिका !
धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ ।
गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनको लागि नागरिकहरुलाई सहजता पुर्याउने उद्देश्यले सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउँनु भयो ।

नागरिकहरुबाट आएको सल्लाह, सुझावको आधारमा आगामी दिनमा गाउँपालिकालाई नीति तथा कार्यक्रमहरु तय गर्न मद्दत पुग्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।
यसैबीच अविरल वर्षाका कारण बाढी पहिरोबाट क्षति भएको सोही गाउँपालिकाको वडा नं. ७ र ८ को अठारसय खानेपानी र आमडाँडा खानेपानी उपभोक्ता समितिहरुलाई ६ सय मीटर खानेपानीको पाइप पनि वितरण गरिएको छ साथै रमाईलो कक्षा संचालनको लागि गाउँपालिकाका सबै विद्यालयका केजी र बाल कक्षाहरुलाई एलइडी टिभी ४७ थान र कक्षा–६ देखि १२ कक्षासम्मका छात्राहरुको लागि १३ हजार ५ सय प्याकेट स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनु भयो ।


