आन्दोलनरत नेकपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने, यस्तो छ तयारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा बृहत् जुलुस निकाल्ने तयारी गरेको छ । संसद् विघटन विरुद्ध एक महिनादेखि आन्दोलनरत यो समूहले नौ स्थानबाट काठमाडौं केन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजनाको तयारी गरेको हो ।
समूहका अनुसार काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट ¥याली निकाल्ने तयारी भएको जानकारी दिँदै उसले समयभित्रै सहभागी हुन पार्टीपंक्तिलाई दिएको छ ।
स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा निकालिन जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रिय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
जुलुसलाई व्यवस्थित गर्न प्रचण्ड–नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । मूल जुलुसपछिको विरोध–सभालाई अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने जनाईएको छ ।


