कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमाैली। जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए। जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप लगाउँदै गर्दा चौधरीलाई मनमा केही डर पनि थियो।

उनले खोप लगाए त्यसपछि भने उनी ढुक्क भए। “खोप लगाउनु दश मिनेटअगाडि पनि त्रासकै अवस्था थियो, मलाई पनि केही हुन्छ कि भन्ने डर थियो, तर खोप लगाइसकेपछि भने सबै डर हरायो”, चौधरीले भने, “खोप लगाएको पनि थाहा भएन, दुख्दा पनि दुखेन।”

चौधरीले खोप सुरक्षित रहेकाले प्राथमिकतामा परेका सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे। “केही असर देखिने भए खोप लगाएको केही मिनेटमै देखिन्छ, मलाई केही भएन”, उनले भने। म्याग्दे गाउँपालिकाका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठले महिलातर्फबाट पहिलो खोप लगाए। उनले पनि सबै स्वास्थ्यकर्मीलाई ढुक्क भएर खोप लगाउन आग्रह गरे।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आजदेखि दमौलीमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको छ। पहिलो खोप लगाएका स्वास्थ्यकर्मीलाई चार हप्तापछि पुनः खोप दिइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

उनका अनुसार १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइन्छ। “खोप लगाएकाहरुलाई केही असर नदेखिएकाले यो खोप प्रभावकारी छ भन्ने हामीले ठहर गरेका छौँ”, अधिकारीले भने, “सबै स्वास्थ्यकर्मीलाई ऊर्जा प्राप्त भएको छ।”

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले माघ १९ गतेसम्म जिल्लाका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउँदैछ । खोप लगाउनका लागि दमौलीमा तीनवटा खोप केन्द्र तोकिएको छ। व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १४ र १५ गते, शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १६ र १७ गते, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकाका र देवघाट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई माघ १८ र १९ गते खोप लगाइँदैछ।

अधिकारीका अनुसार व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपलिकाका २६७, भीमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँबुखैरेनी गाउँपालिकाका ७३, बन्दीपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइँदैछ । स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायतलाई यो खोप लगाइँदैछ ।

प्रदेश सरकारले मङ्गलबार मात्रै तनहुँलाई १८९ भायल खोप उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले खोप लगाएकालाई ३० मिनेट चिकित्सकको निगरानीमा राखिने र केही असर देखिए तत्कालै उपचारको व्यवस्था मिलाइएको जानकारी दिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।