प्रदेशका सबै जिल्लामा जनगणना कार्यालय स्थापना
विराटनगर, ४ चैत । प्रदेश नं १ का १४ वटै जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेका छन् । ‘मेरो गणना मेरो सहभागिता’ नारा दिइएको राष्ट्रिय जनगणना–२०७८ १२ औँ जनगणना हो । विसं २०६८ बाट शुरु भएको राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या मात्र नभएर सबै सूचाङ्कको अभिलेख हुने र यसबाट राष्ट्रिय नीति निर्माण गर्न सरकारलाई सहज हुने भनिएको छ ।
देशभरमा ८७ जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ भने मोरङमा दुई स्थान बेलबारी र विराटनगरमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको प्रदेश तथ्याङ्क कार्यालयका प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा आज बसेको जिल्ला जनगणना समिति समितिको बैठकले जनगणनाका निम्ति केन्द्रले तय गरेको हो ।
बैठकले कार्यक्रमको प्रचारप्रसार गर्ने निर्णय गर्नाका साथै आगामी वैशाख १६ देखि २२ गतेसम्म जनगणना सुपरीवेक्षकको तालीम गरी वैशाख २६ देखि जेठ १४ गतेसम्म सूचीकरणको काम गर्ने र आगामी जेठ २५ देखि असार ८ गतेसम्म गणकले घरघरमा गएर गणना गर्ने निर्णय गरिएको प्रमुख बरालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी निरौलाले जनगणनाका लागि आवश्यक पर्ने सबै किसिमको सुरक्षाको तयारी भइसकेको बताउनुभयो । मोरङमा १५० सुपरीवेक्षक र ५९० गणक नियुक्त गरिएको प्रमुख बरालले बताउनुभयो ।
जुत्ताचप्पल मेला
विगत वर्षमा झैँ यस वर्ष पनि विराटनगरमा जुत्ताचप्पल मेला लाग्ने भएको छ । बिहीबारदेखि शुरु हुने सो मेला आगामी वैशाख ५ गतेसम्म लाग्ने आयोजकले बताएको छ । मेलामा १२ कम्पनीका २० ब्राण्डका २५ हजार जोर जुत्ताचप्पल मेलामा रहने र करीब रु दुई करोड बराबरको कारोवार हुने फुटवेयर म्युनफ्याक्चर्स एशोसिएशन अफ नेपालका होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले देशभरमा करीब एक हजार ५०० जुत्ताचप्पलको कारखानाबाट बर्सेनि पाँच करोडभन्दा बढी जुत्ताचप्पल उत्पादन हुने गरेको जानकारी दिनुभयो । नेपालमा कुल आवश्यकता नौ करोड जोर जुत्ताचप्पलको माग रहँदै आएको बताइएको छ । लगभग ५५ हजार मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाएको यस क्षेत्रको उत्रति र प्रगतिका लागि राज्यले आवश्यक पर्ने सामग्री जुटाई दिन सहयोग गर्नुपर्ने आयोजकका तर्फबाट उपाध्यायले बताउनुभयो ।
मेला यहाँको जलजल सिनेमा हल रोड नजिक ६० कक्षमा सञ्चालन गरिने र यसका लागि ग्राहक एवं उपभोक्तालाई विशेष सहुलियत पनि प्रदान गर्ने भनिएको छ ।(रासस)


