‘नेपाललाई गैँडाको देश भनेर चिनाउन सकिने’

काठमाडौं, चैत ९ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना सुरु गरिएको हो। वन तथा वातावरणमन्त्री प्रेम आलेले आज सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन्।

गैँडा गणनाको शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताए। उनले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिंदै उनले भने, ‘दुर्लभ एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ।’

चोरी–शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उनले चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिए।

मन्त्री आलेले भने, ‘विभिन्न तस्करहरुबाट खागका लागि गैँडा मारिने गरेको छ। यस्ता नाकाहरुमा कडाइ गर्दै जानुपर्छ।’

पहिराका कारण गैँडा विस्थापित हुने खतरा बढेको उनको भनाइ थियो। संरक्षणमा देखिएका समस्याहरुलाई न्यूनीकरण गर्दै जानुपर्ने उनले बताए। मन्त्री आलेले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकहरु पनि गैँडा हेर्नकै लागि नेपाल आउने गरेका छन् भने।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा दीपककुमार खराल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, वाग्मती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यप्रसाद ढुङ्गाना, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले बोलेका थिए।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सन् २०१५ को गणनायता १६१ गैँडा मृतावस्थामा भेटिएको जानकारी दिए।

उनका अनुसार मृतावस्थामा भेटिएका गैँडामध्ये १५५ गैँडा प्राकृतिक कारण र छ वटा गैँडा चोरी–शिकारीका कारण मरेका थिए। सोही समयमा चोरी–शिकारीमा संलग्न २३ जनालाई पक्राउ गरिएको छ। बरालका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै निकुञ्जमा २६ गैँडा मरेका छन्। यसमध्ये चारवटा चोरी–शिकारीले मारेको उनले बताए।

गणनाका लागि चितवनमा ४२, बर्दियामा नौ र शुक्लाफाँटामा पाँच गरी ५६ हात्ती र चितवनमा २००, बर्दियामा ६० र शुक्लाफाँटामा ४० जना गणक परिचालन भएका छन्। व्यवस्थापन सहयोग एवं हात्तीसारका कर्मचारी छुट्टै परिचालन गरिएको छ। दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन्।

कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिएको छ। यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारीहरु खटिएका छन्। दुई निकुञ्जमा गैँडा गणना गर्न २० दिन हाराहारी लाग्नेछ। गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदैछ। चैत्र २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतीजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ।

हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ। यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए। तथ्यांक अनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।