फरक शैलीमा कोभिड उपचार गर्दै आयुर्वेद स्वास्थ्य केन्द्र

चितवन,पश्चिम चितवनको भरतपुर महानगरपालिका—१४ शिबनगरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्थापना गरेको आइसोलेसनमा आयुर्वेद एवं प्राकृतिक चिकित्सा शैलीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भएर उपचारका लागि आएका बिरामीलाई जिल्लाका ठूला अस्पतालले भन्दा फरक शैलीमा उपचार गरिएको हो ।

स्वास्थ्य केन्द्र प्रमुख डा कोपिला अधिकारीका अनुसार उक्त आइसोलेसनमा उपचाररत कोभिड सङ्क्रमितलाई खुल्ला वातावरणमा आयुर्वेद, योग, प्राणायाम, अमृत भोजन, स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी, रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटी क्वाथ, कोरोनाको लाक्षणिक उपचारका लागि आयुर्वेदिक औषधिसहित पारिवारिक वातावरणमा उपचार शुरु गरिएको छ ।

चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, योग प्रशिक्षकसहितको समूहले सो आयुर्वेद आइसोलेसन सेन्टरमा सेवा दिइरहेको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहान दैनिक योग आसन, प्राणायाम, मन्त्रोच्चारणसहित दैनिकी शुरु हुन्छ, चिकित्सकको प्रत्यक्ष निगरानीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने जडीबुटीको क्वाथ दिइन्छ ।” आइसोलेसन सेन्टरभित्रै तयार गरिएको ताजा अमृत भोजन, टुसा उमारेको गेडागुडी, बिरामीको अवस्थाअनुसार फलफूल बिरामीलाई खान दिइएको उहाँले बताउनुभयो ।

डा. अधिकारीले भन्नुभयो, “आयुर्वेद पद्दति अनुसार पोषण अवस्थालाई ख्याल गरी दूध, अण्डा खुवाउने गरिएको छ ।” यहाँ आएका बिरामीलाई अक्सिजनको प्रयोेग सकेसम्म नगरी उपचार गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लक्षण देखिएर आएका बिरामीलाई उपचारका क्रममा खासै कृतिम अक्सिजनको प्रयोग गरेका छैनौँ ।”

आइसोलेसन सेन्टरको परिसरमा पिपल, तुलसी, घिउकुमारी, सेंसेभेरिया, रुद्राक्ष, सीता अशोकजस्ता पर्यावरणमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्ने जडीबुटीका बिरुवा रोपिएको छ । परिसरमा रहेको पुरानो पिपल र समीको रुखहरुले वातावरणमा शुद्धता थपेको छ । कृतिम रुपमा दिइने अक्सिजन भन्दा प्राकृतिक रुपमा पाइने अक्सिजन अझ बढी प्रभावकारी हुने उहँँको भनाइ छ ।

कोभिड सङ्क्रमितको मनोबल उच्च राख्न चिकित्सक स्वास्थ्यकर्मीको समूह २४ सै घण्टा आइसोलेसन सेन्टरमा खटिएका छन् । अहिले सो सेन्टरमा तीन जना चिकित्सक, नर्स चार जना, सहयोगी दुई जना र अन्य पारामेडिक कर्मचारी गरी १३ जना उपचारमा खटिएका छन् । उहाँका अनुसार साँझको समयमा ब्याडमिन्टन, लुँडोलगायत खेलकुदको व्यवस्था गरिएको छ । साँझमा छातीको व्यायाम, प्राणायाम र मन्त्रोच्चारण गरिने अधिकारीको भनाइ छ ।

हाल आयुर्वेद आइसोलेसनमा छ जना सङ्क्रमितको उपचार भइरहेको छ । यसमा चार जनामा सामान्य लक्षण र दुई जनामा लक्षण नभएका बिरामीको उपचार भइरहेको छ । उपचारमा रहेका छ जना विगत एक सातादेखि राखिएको छ । पोस्ट कोभिड व्यवस्थापनका लागि पनि तुरुन्त काम शुरु गरिने अधिकारीले जानकारी दिनुभयो ।

वागमती प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा भरतपुर महानगरपालिकाको स्थानीय सहयोगमा भरतपुर महानगरपालिका वार्ड नं १४ र १५ को पायक पर्ने स्थानमा सो आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । बिरामीको लागि अत्यावश्यक अक्सिजनसहित २० शय्याको सो आयुर्वेद आइसोलेसन सेन्टर चितवन जिल्लामै नमूना आइसोलेसन सेन्टरको रुपमा सञ्चालनमा ल्याइएको उहाँको दाबी छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।