विश्व रक्तदाता दिवस : ४० हजार युनिट रगत खपत

चितवन,देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ लगायतका ठूला शहरमा पठाउने गरिएको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट समेत ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपाने यहाँका दुई ठूला मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गरेको बताउनुहुन्छ ।

उहाँका अनुसार यहाँ रगतको माग पूर्ति गर्न चितवनसहित छिमेकी जिल्लाबाट रगत सङ्कलन गरी ल्याइने गरिन्छ । उहाँले भन्नुभयो, “मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी लगायतका जिल्ला पुगेर रक्तदान कार्यक्रम गरी रगत ल्याउने गरेका छौँ ।” केन्द्रले मनाङबाट समेत रगत ल्याएर यहाँको आपूर्ति धान्ने गरेको उहाँको भनाइ छ ।

वर्षैभर रगतको अभाव हुने गर्दछ । बिरामीका आफन्त र साथीभाइसँगै स्वयंसेवी रक्तदातासँग सहयोग मागेर रगतको परिपूर्ति गर्ने गरिएको छ । काठमाडौँको प्रसूतिगृहपछि धेरै प्रसूति यहाँ हुने गर्दछन् । पछिल्ला वर्षमा शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम बढ्दै जाँदा रगतको माग बढेको हो। क्यान्सरका बिरामीलाई धेरै रगत दिनुपर्ने हुन्छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार यसका अतिरिक्त ठूला शल्यक्रिया र दुर्घटनाका घाइतेलाई पनि बढी मात्रामा रगत आवश्यक पर्दछ । केन्द्रले स्थानीय तह र सङ्घसंस्थालाई रक्तदानमा उत्प्रेरणा जगाउन अनुरोध गर्दै आएको छ ।

जिल्लाका सात पालिकामध्ये माडी र इच्छाकामनाले आफ्ना पालिकावासीलाई आवश्यक पर्ने रगतको भुक्तानी गर्दै आएका छन् । तीसँगै सबै पालिकाले रक्तदान कार्यक्रम आयोजकलाई प्रतिरक्तदाता रु १०० दिँदै आएका छन् । यो रकम बढाएर सहयोग गर्न अनुरोध गरिएको पौडेलले बताउनुभयो।

यसका अतिरिक्त टोल विकास संस्थामा रक्तदानसम्बन्धी उत्प्रेरणा जगाइदिन सहयोग गर्न सबै पालिकामा नेपाल रेडक्रस सोसाइटीले अनुरोध गर्दै आएको छ । आउँदा केही वर्षमा वार्षिक ५० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने अनुमान गरिएको छ ।

जिल्लामा ३५० भन्दा बढी संस्थाले वार्षिक क्यालेन्डर बनाएर रक्तदान गर्दै आएका छन् । यसका अतिरिक्त विभिन्न सामाजिक सङ्घसंस्थाले समयसमयमा कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल आन्तरिक र बाह्य रक्तस्रावका कारण रगतको मात्रा घटेमा रगत दिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हेमोग्लोबिन र शरीरमा रगतको मात्रा बढाउन रगत अत्यावश्यक छ ।” समयमा रगत प्राप्त नभएमा बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले रगत अति महत्वपूर्ण हुने उहाँको भनाइ छ । यसैले पनि रक्तदान जीवनदान भन्ने गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖