२४३ जनामा डेङ्गु लक्षण

चितवन, जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेङ्गु लक्षण देखिएको छ । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरु भएसँगै सङ्क्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो ।

सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेङ्गु परीक्षण गरिएको जानकारी दिनुभयो । गत आवमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो । आव २०७५÷७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र आव २०७४÷७५ मा एक हजार २९१ जनाको परीक्षणमा एक जनाको मृत्यु हुनाका साथै ५८ जनामा सङ्क्रमण देखिएको थियो ।

नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेङ्गु फेला परेको थियो । सन् २००६ मा तराई र भित्री मधेशमा देखिएको डेङ्गु सन् २००९ मा चितवनमा पहिलोपटक नौ जनामा देखिएको थियो ।

एक वर्षको अन्तरालमा सङ्क्रमण बढी देखिने गरेको जनाउँदै समयमा नै सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय तहहरुले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अब प्रत्यक्ष रुपमा नियन्त्रण गर्न काममा नै जुट्नुपर्ने समय आएको छ भन्नुभयो ।

गाउँ र टोलटोलमा जनचेतना जगाउनुपर्ने उहाँको भनाइ थियो । डेङ्गु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । यो खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा सयौँको सङ्ख्यामा फुल पार्दछ ।

स्वास्थ्य कार्यालयका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिरामी आउने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यो भाइरसका कारण हुने भएकाले खास उपचार नहुने र लक्षणअनुसार उपचार गरिने निरीक्षक केसीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖