सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र

कञ्चनपुर, ६ साउन ,शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेशन कैलालीसँगको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई सहज र सुलभरूपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताउनुभयो ।

“सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन”, उहाँले भन्नुभयो, “सामाजिक क्षेत्रमा समेत लगानी गर्नुपर्छ । त्यही भावनाले प्रेरित भएर उपचार केन्द्र सञ्चालन गरेका छौँं ।” फाउन्डेशनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि तथा जनशक्तिको व्यवस्थापन गरेको छ । सहकारीले उपचार केन्द्र सञ्चालनका लागि घरभाडा, विद्युत् र खानेपानीको महसुल तिर्ने सम्झौता गरेको छ ।

वैशाख महिनादेखि नै सहकारीले उपचार केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको भए पनि कोरोनाको सङ्क्रमण बढेपछि गरिएको बन्दाबन्दीका कारण विलम्ब गरी उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । उपचार केन्द्रबाट हुने आम्दानीबाट आँखा उपचारमा संलग्न प्राविधिकको तलबलगायतको सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

बिरामीको चापअनुसार थप जनशक्ति थप्नुपरेमा सहकारीले सम्पूर्ण खर्च बेहोर्ने गरी राख्ने सहकारीका अध्यक्ष शिवराज भट्टले बताउनुभयो । वैशाख महिनादेखि नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्झौता गरिएको भए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण सञ्चालनमा विलम्ब भएको उहाँले बताउनुभयो ।

उपचार केन्द्रमा पुग्ने बिरामीको अबदेखि निरन्तररूपमा उपचार हुने उहाँको भनाइ छ । सहकारीमा आबद्ध १३ हजार ५०० सदस्यलाई आँखा उपचारमा छुट दिने व्यवस्थासमेत गरिएको छ । त्यसका लागि कार्ड बनाउने कार्य भइरहेको सहकारीका पदाधिकारीले बताएका छन् । केन्द्रमा उपचारका लागि आउने बिरामीका लागि रु ५० दर्ता शुल्क निर्धारण गरिएको छ । बाह्य क्षेत्रभन्दा निकै सहुलियत मूल्यमा उपचार केन्द्रबाट बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइने बताइएको छ ।

नगरपालिका क्षेत्रमा आँखा उपचारको व्यवस्था नहुँदा नगरवासीले टाढाको महेन्द्रनगर र धनगढी पुगेर चर्को शुल्क तिरेर उपचार गराउँदै आएका छन् । झलारी बजारमै आँखा उपचार केन्द्र सञ्चालन भएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

च्यारिटी हेल्थ फाउण्डेशनसँगको सहकार्यमा सहकारीले गत महिना शुक्लाफाँटा–९ मा आँखा शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा ३०० भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका थिए । शिविरमा बिरामीको उपचारसँंगै निःशुल्क चश्मा र औषधि वितरण गरिएको थियो ।

फाउण्डेशनको सहकार्यमा सहकारीले केही दिनभित्रै शल्यक्रियासहितको बृहत् आँखा शिविर सञ्चालन गर्ने योजनासमेत बनाएको छ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आँखा उपचार केन्द्रका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।