एमाले अध्यक्ष ओलीले गरे यस्तो अपिल

काठमाडौँ, १ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको हो ।

उहाँले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, “एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।” उहाँले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेको उल्लेख गर्दै त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासतसहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित भएको बताउनुभएको छ ।

एमालेलाई एकीकृत गर्ने क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको र उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न नेता, कार्यकर्तालाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिलसमेत गर्नुभएको छ ।

“सयौँ शहिदको बलिदान, हजारौँ नेता तथा कार्यकर्ताको कष्टसाध्य सङ्घर्ष, लाखौँ सदस्यको मेहनत तथा जनसङ्ख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैँमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ”, उहाँले भन्नुभएको छ, “पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।”

उहाँले आफू पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, समभावमा विश्वास गर्दै सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनुपर्दछ भन्ने मानेको समेत बताउनुभयो । “पार्टीलाई अनुशासित, एकताबद्ध एवं गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई आह्वान गर्दछु”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफूसम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।”

अहिले हाम्रोसामु पार्टीको विधान, मुलुकको संविधान र कानुनी व्यवस्थाबमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यलाई सुझाव पठाउन निर्देशन गरिएको जानकारी दिनुभयो । उहाँले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यमाझ जीवन्त र रचनात्मक ढङ्गले छलफल हुने अपेक्षासमेत गर्नुभएको छ ।

“जनताको बहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतान्त्रिकरणको मर्मअनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडलाई आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।