पुनः भदौ ७ सम्म निषेधाज्ञा

कृष्ण न्यौपाने;दमौली, १ भदौ । तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश जारी गर्नुभएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक आचार्यले थपिएको निषेधाज्ञा पहिलाको भन्दा कडा हुने र उल्लङ्घन गर्नेलाई जरिवाना गरिने बताउनुभयो । पसल खोल्ने समय अहिले घटाएर बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न र व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइने तर अन्य क्रियाकलापमा भने पूर्णरूपमा प्रतिबन्ध लगाइएकोे छ ।

जिल्लामा दिनदिनै कोरोना सङ्क्रमित बढ्दै गएका र अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४७६ पुगेको छ । वैशाखदेखि यता चार हजार ६९७ जनामा सङ्क्रमण पुष्टि भएकामा चार हजार १२२ निको भएका र ९९ को मृत्यु भएको छ ।

‘ट्रि हाउस’ बन्द

कोरोनाको जोखिम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क सहितको ट्रि हाउस बन्द गरिएको छ । पछिल्लो समय चर्चित यस स्थलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेकाले जोखिम बढ्न नदिन केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा अर्को सूचना जारी नभएसम्मका उक्त स्थल बन्द गर्ने निर्णय गरिएको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिनुभयो । ट्रि हाउसमा बिदाका दिनमा चार–पाँच सय र अन्य दिन एक सय आन्तरिक पर्यटक पुग्ने गरेका थिए ।

डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको थियो । रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउन उद्यानका साथै रुखमा घर बनाइएको थियो । रुखलाई भित्र पारेर निर्माण गरिएको दुई तहको काठको घरबाट दृश्यावलोकन गर्न सकिन्छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको हो ।

एक हप्तादेखि उठेन फोहर

सदरमुकाम दमौलीमा एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । व्यास नगरपालिका–१ चारकुनेमा अस्थायीरुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि दमौली बजारको फोहर उठाउन नसकिएको हो ।

नगरपालिकाले फोहर विसर्जन गर्दै आएको वडा नं ३ स्थित भतेरीमा गतवर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेका रामदेव पन्थको जग्गा भाडामा लिएर त्यहाँ नकुहिने फोहर विसर्जन गर्न थालिएको थियो । कुहिने फोहरलाई भने वडा नं १० मै मल उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको छ ।

“अस्थायी रुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि अहिले फोहर उठाउन कठिन भएको छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भन्नुभयो, “ठाउँ खोजेर फोहर उठाउने प्रयास गर्दैछौ ।” उहाँका अनुसार वडा नं १३ मा फोहर विसर्जनका लागि ठाउँ हेर्नाका साथै स्थानीयबासीसँग छलफल पनि भइरहेको छ ।

वडा नं १ को भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नजिकै बुल्दीखोलाको आसपासमा पनि फोहर विसर्जनका लागि नगरप्रमुखले ठाउँ हेर्नुभएको प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ ।

सिद्धगुफाको पूर्वाधार निर्माणमा सहयोग गरिने

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले दक्षिण एशियाकै दोस्रो ठूलो भनिएकोे सिद्धगुफा अवलोकन गर्नुभएको छ । सोमबार अवलोकन गर्नुभएका उहाँले बन्दिपुर गाउँपालिका–४ बिमलनगर नजिकैको गुफा अत्यन्तै आकर्षक, ऐतिहासिक, कलात्मक र सडक पहुँचबाट नजिक रहे पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउनुभयो । मन्त्री कँडेलले गुफा नजिकै रहेको भगवान् शिवको मूर्ति स्थापना गर्न प्रदेशबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

पृथ्वी राजमार्गको डुम्रेबाट दुई किलोमिटर पूर्व र समुद्री सतहबाट ६०० मिटरमाथि रहेको गुफा विसं २०४४ चैत १३ मा स्थानीयवासीले पत्ता लगाएका थिए । गुफा करिव तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।यसैगरी बिमलनगरस्थित रक क्लाइम्बिङ पनि अवलोकन गर्नुभएका उहाँले साहसिक खेलबाट पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖