प्रदेश नं १ कै पहिलो कालिज फार्म ग्राहकसँगै पर्यटक लोभ्याउँदै

झापा, ८ भदौ । इलामको दक्षिणी गाउँपालिका रोङका किटेनीमा सञ्चालित प्रदेश नं १ कै पहिलो कालिज (जङ्गली कुखुरा) फार्मले आम्दानीसँगै पर्यटक आकर्षित गर्न थालेको छ ।

रोङ गाउँपालिका–४ किटेनीमा मेची राजमार्गसँगै जोडिएको सात रोपनी जग्गामा नेपाल प्रहरीका भूतपूर्व सहायक निरीक्षक नन्द गुरुङले दुई वर्षअघि पोखराका साथीसँग मिलेर रु एक करोड लगानीमा इस्टर्न वाइल्ड फुड प्रालि नामक कम्पनीमार्फत कालिज फार्म सुरुआत गर्नुभएको हो ।

मासुका पारखीले जङ्गली कुखुराको प्रजाति भएको हुँदा कालिज अति रुचाउँछन् । साना रेस्टुरेन्टदेखि ठूला तारे होटलसम्म र व्यक्तिका घरदेखि भोजभतेरको भान्सासम्म कालिज पाक्ने गरेको छ । स्वाद र पौष्टिकताले भरिपूर्ण हुने भएकोले बिरामी र सुत्केरीलाई तागत बढाउनसमेत कालिजको मासुको झोल खुवाउने चलन छ ।

अरु कुखुराले जस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन । उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेराबेरा मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाउनुपर्ने हुन्छ ।

गुरुङले फार्म सञ्चालनका लागि आफ्नो पुख्र्यौली १३ रोपनी जग्गामध्ये सात रोपनी कम्पनीलाई दिनुभएको छ । उहाँका अनुसार यस प्रालिमा नेपालमा पहिलो पटकट कालिज फार्म खोल्ने पोखराका युवा व्यवसायी पदम अधिकारीको लगानी छ ।

फार्ममा अहिले हुर्किएका तीन हजार ५०० वटा बिक्रीयोग्य कालिज ग्राहकको प्रतीक्षामा छन् । “हामीकहाँ प्रशस्त कालिज हुर्किरहेका छन्, बेचिरहेका छौं,” उहाँले भन्नुभयो,“मासुका लागि मात्र नभएर पाल्न चाहनेका लागि चल्ला पनि हामीसँग प्रशस्त छ ।”

बजारलाई लक्षित गरी कालिज फार्म सञ्चालन गरिएकोमा कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीले होटल तथा रेस्टुराँ खोल्न नसक्ने अवस्था र पर्यटक चहलपहल ठप्प हुँदा व्यवसाय विस्तारमा असर परेको उहाँले बताउनुभयो ।

इलामको श्रीअन्तु, कन्याम जस्ता पर्यटकीयस्थल नजिक भएका कारण फार्मबाटै कालिज बिक्री भइरहेको जनाउँदै उहाँले झापाको बजार र होटलहरुमासमेत लैजाने गरेको बताउनुभयो । लोकल र ब्रोइलर कुखुराको तुलनामा कालिज निकै महँगो पर्दछ । एउटा वयस्क कालिज एक किलो ५०० ग्राम तौलको हुनेगर्छ ।

फार्ममै किन्न आउनेहरुले प्रति किलो रु तीन हजार ५०० सम्म दाम हालेर कालिज किन्ने गरेको उहाँको भनाइ छ । कालिजको पोथीभन्दा भाले सुन्दर देखिन्छ । लामो पुच्छर र रङ्गीन प्वाख भएकाले पर्यटक फार्ममा पुगेर घण्टौंँसम्म कालिज हेरेर रमाउने गरेका छन् । कर्मचारीले जुत्ता चप्पल र गोडाभन्दा मुनिको भागमा निशङ्क्रमण गरेर मात्र पर्यटकलाई फार्ममा प्रवेश दिने गरेका छन् ।

“गुरुङजीले ठूलो लगानीमा नयाँ खाले व्यवसाय सुरु गर्नुभएको रहेछ, कालिजलाई नजिकै गएर हेर्दा आनन्द लाग्यो,” फार्म हेर्न जानुभएको मेचीनगर–९ का ईश्वर भण्डारीले भन्नुभयो,“प्रदेशकै पहिलो कालिज फार्म भएको र यसबाट पर्यटकीय प्रवद्र्धनमा समेत सघाउ पुग्ने भएको हुँदा सरकारी निकायको प्रोत्साहनयुक्त दृष्टि यहाँ पुग्नुपर्छ ।”

नेपालमा पहिलो पटक नयाँ व्यवसाय गर्दा गाह्रो हुने र सरकारी निकाय तथा वित्तीय संस्थाबाट पनि लगानीमा आनाकानी हुने गरेको धारणा व्यक्त गर्दै कालिज पालनले कृषि र पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । सडकबाट नजिक भएकोले फार्ममा गएर कालिज हेर्न दिनहुँ आन्तरिक पर्यटक जाने गरेका छन् ।

प्रहरीको जागिरबाट पेन्सन पकाइसकेपछि खाली बस्नुभन्दा कृषि र पर्यटन क्षेत्रको व्यावसायिक विकासमा लाग्ने अन्तरमनको चाहनाले भूपू प्रहरी निरीक्षक गुरुङ कालिज फार्ममा लाग्नुभएको हो । पहिलोपल्ट आफुले कालिज पालेको देखेर अरुले पनि पाल्ने चाहना गरुन् भनेर ह्याचरीमासमेत लगानी गरेको उहाँले बताउनुभयो ।

हाल फार्मभित्रै एउटा सुविधासम्पन्न भवनमा कालिजको चल्ला कोरल्ने ह्याचरी उपकरण राखिएका छन् । विद्युत् प्रवाह अवरुद्ध नहोस् भनेर ठूलो जेनेरेटर मेसिन राखिएको छ । त्यहाँ साना चल्ला हुर्किरहेका छन् ।

आफूले पोखराबाट पहिलो पटकप्रति गोटा रु तीन हजार मूल्यमा कालिजको चल्ला किनेको गुरुङले सुनाउनुभयो । अहिले उहाँले स्थानीय खरिदकर्तालाई रु ७५० देखि रु एक हजारसम्ममा चल्ला बिक्री गर्दै आउनुभएको छ ।

कोरोना महामारी मत्थर भएपछि पर्यटकीयस्थलमा चलहपहल बढ्ने र त्यसबेला कालिजको बजार ह्यात्तै बढ्ने सञ्चालकको अपेक्षा छ । “साथीभाइ र जानकारले हौसला बढाइरहनुभएको छ,” सञ्चालक गुरुङले भावी योजना सुनाउँदै भन्नुभयो,“यहीँ ठाउँमा एउटा राम्रो रिसोर्ट चलाउने सोचाइमा छु ।” कालिजसँगै बोयर खसी र कडकनाथ कुखुरा पाल्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

झापाको चारआलीस्थित महेन्द्र राजमार्गबाट १८ किलोमिटर उत्तर मेची राजमार्गमै रहेको सो स्थानमा गर्मीमा चिसो र जाडोमा न्यानो मौसम हुने भएकोले रिसोर्ट चल्ने उहाँको धारणा छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।